गाउँलेहरूलाई गँड्यौला पाल्न सिकाउँदै कर्णबहादुर

दाङ – तुलसीपुर उपमहानगरपालिका–२ भट्टेका कर्णबहादुर ओली गाउँकै पहिलो गँड्यौला पालक किसान हुनुहुन्छ। उहाँले २०७६ सालदेखि गँड्यौला पालन सुरु गरी उत्पादन भएको मल प्रयोग गर्दै आउनुभएको छ।
ओलीकै नेतृत्वमा हाल गाउँका ३२ घरधुरीले गँड्यौला पालन गर्दै प्राङ्गारिक मल प्रयोग गर्न थालेका छन्। बढ्दो रासायनिक मल प्रयोगले स्वास्थ्यमा गम्भीर समस्या ल्याउन थालेपछि गाउँले अर्ग्यानिक तरकारी उत्पादनमा लागेका हुन्।
यहाँका किसानहरूले आफूले खाने मात्र नभई बजारमा बिक्री वितरण गर्ने तरकारी तथा खाद्यान्नमा पनि पूर्ण रूपमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन्। गँड्यौला मल र जैविक झोल मलले माटोको उर्वरा शक्ति बढाउनुका साथै स्वास्थ्यमा असर नपर्ने भएपछि अहिले यो अभ्यासलाई जिल्लाका अन्य स्थान र छिमेकी जिल्लाले पनि अनुकरण गर्न थालेका छन्।
लुम्बिनी प्रदेश सरकारले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेपछि यसको महत्त्व अझ बढेको छ। ओली हाल प्राङ्गारिक मल उत्पादक सङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष हुनुहुन्छ। साथै, प्राङ्गारिक खेती प्रणाली र गँड्यौला मल उत्पादन सम्बन्धी प्रशिक्षण दिन उहाँलाई भ्याइनभ्याइ छ।
यसैबिच, कृषि ज्ञान केन्द्र दाङले उत्कृष्ट कृषकको रूपमा ओलीलाई यस वर्ष पुरस्कृत गरेको छ। केन्द्रका वरिष्ठ कृषि प्राविधिक सेतीराम बबालका अनुसार गाउँलेहरूको अभियानलाई सरकारी निकायले विभिन्न कार्यक्रममार्फत प्राविधिक तथा आर्थिक सहयोग पुर्याउँदै आएको छ।






प्रतिक्रिया राख्नुहोस्