दसैँ नजिकिँदै गर्दा उपत्यकामा भित्रिए मुस्ताङे च्याङ्ग्रा

भक्तपुर – दसैँ नजिकिँदै गर्दा उपत्यकामा हिमाली च्याङ्ग्राको माग एकाएक बढेको छ । जडीबुटी चरेको प्राकृतिक स्वादले भरिपूर्ण मुस्ताङे च्याङ्ग्रा उपत्यकाका उपभोक्ताबीच लोकप्रिय बनेको छ । भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीको खुल्ला चउरमा करिब तीन हजार च्याङ्ग्रा विक्रीका लागि राखिएका हुन । यहाँ मुस्ताङबाट ल्याइएका सयौँ हिमाली च्याङ्ग्रा बिक्रीका लागि राखिएको र जसको खरिद बिक्री भइरहेको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायत जिल्लाका उपभोक्ताहरूलाई अहिले च्याङ्ग्रा किन्न भ्याइ नभ्याइ छ । तर, मूल्यको विषयमा भने उपभोक्ता खासै सन्तुष्ट देखिँदैनन् । झापाका सुवास भट्टराई भन्छन्, गत वर्षको तुलनामा च्याङ्ग्राको मूल्य धेरै बढेको छ । हामीले सोचेजस्तो सस्तो छैन । तर पनि दसैँ मनाउनु छ ।
च्याङ्ग्राको बिक्री तौलमा होइन, गोटा अनुसार हुने परम्पराले गर्दा मूल्य उच्च देखिएको च्याङ्ग्रा व्यापारी बताउँछन् । यस चउरको पनि करिब ३५ हजार कर तिर्नु पर्छ जसका कारण अझ महँगोमा बिक्री गर्नु परेको उनीहरूको भनाइ छ । व्यापारी मदन कार्की भन्छन्, हामीले किसानको खोरबाट एउटा च्याङ्ग्रा ४०–४५ हजारमा किनेका छौँ। ढुवानी र अन्य खर्च पनि धेरै हुन्छ।
व्यापारीहरूका अनुसार मुस्ताङबाट उपत्यकासम्म ल्याउँदा करिब ३० हजार रुपैयाँ भन्सार र ढुवानी खर्च पर्ने गर्छ भने सल्लाघारीमै ३५ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । यी सबै खर्चका कारण च्याङ्ग्राको खुद्रा मूल्य उच्च भएको उनको दाबी छ । हाल सल्लाघारीमा जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २५० रुपैयाँ छ भने काटिएको मासुको मूल्य प्रतिकिलो २ हजार ४०० रुपैयाँ छ । गत वर्ष यही मूल्य १ हजार ५० देखि १ हजार २०० रुपैयाँसम्म मात्र थियो । च्याङ्ग्राको माग बढे पनि मूल्य वृद्धिका कारण किन्ने ग्राहक कमी नै देखिएको छ । तर दसैँजस्तो महत्त्वपूर्ण पर्वमा ग्राहकहरूको चहलपहल भने रोकिएको छैन । त्यस्तै, पशु सेवा विभागले बजार अनुगमनसँगै च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ । विभागले सिङमा हरियो रङ्ग लगाइएको च्याङ्ग्रा मात्र खरिद गर्न उपभोक्तालाई अनुरोध गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्