रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध भएपछि कष्टकर यात्रा गर्दै गन्तव्यतर्फ – फोटो फिचर

काभ्रे – असोजको १७ र गते निरन्तर परेको वर्षाको कारण बिपी राजमार्ग अन्तर्गत भकुन्डे–नेपाल थोक सडक खण्डको विभिन्न स्थान क्षति पुगेपछि राजमार्ग अहिले पूर्ण रूपमा अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन स्ट्रेचर र डोकाको भर र दशैं मान्न गाउँ घर पुगेकाहरु रोशी खोलाको तिरैतिर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । रोशी गाउँपालिका र नमो बुद्ध नगरपालिकाको सीमा क्षेत्र चौकी डाँडामा अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
चौकी डाँडा हुदैं काभ्रेको विकट पालिकाको रूपमा रहेको महाभारत गाउँपालिकाका विभिन्न स्थानबाट दसैँ मनाउन गएकाहरू घण्टौँ बाटो हिँडेर गन्तव्यतर्फ लागेका छन् । यसका साथै रोशी गाउँपालिकाको विभिन्न वडाका नागरिकहरू प्रभावित भएका छन् । घण्टौँ पैदल हिँडेर पैदल यात्रा गर्नु बाहेक अर्को विकल्प छैन । कारण, बिपी राजमार्ग मर्मत गरी पुर्न ः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । नेपालको पूर्वी नाका जोड्ने बिपी राजमार्गका करिब १७ स्थानमा रोशी खोलाले क्षति पुर्याएको छ । जसमध्ये ५ स्थानमा निकै नै जोखिम रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोलामा पानीको बहाव कम भएपछि भोलीबाट अस्थायी रूपमा मर्मत कार्य सुरु गरिनेछ ।
बिपी राजमार्गलाई पुनः सुचारु गर्नको लागि काभ्रेको रोशी गाउँपालिका, नमो बुद्ध नगरपालिका र महाभारत गाउँपालिकाका तीन स्थानीय तहका जनप्रतिनिधिहरूले चासो दिएका छन् । यस विषयमा रोशी खोलाको बगरमा तीन वटै स्थानीय तहको समन्वय बैठक बसेको थियो । बैठकले छिटो भन्दा छिटो राजमार्ग सुचारु गर्ने निर्णय गरेको थियो ।
बिपी राजमार्ग अवरुद्ध हुँदा नेपालको पूर्वी नाका जोड्ने सडक खण्डसँग सम्बन्ध टुटेको छ । जसका कारण नेपालका पूर्वी तथा तराई भेगसम्मका नागरिक प्रभावित भएका छन् ।











प्रतिक्रिया राख्नुहोस्