पाल्पामा चाडपर्वलाई मौका छोपी मनपरी भाडा असुली

पाल्पा- चाडपर्वलाई मौका छोपी पाल्पाका यातायात व्यवसायीले मनपरी सवारी भाडा असुलेको यात्रुले गुनासो गरेका छन् ।
बडादसैँ मनाएर गन्तव्य तर्फ फर्किने क्रममा चाडपर्वलाई बहाना बनाएर दोब्बर भाडा असुली भएको यात्रुको दुखेसो छ । सामान्यतया पाल्पा बुटवलको भाडा प्रति यात्रु १५० रुपैयाँ तोकिए पनि करिब दुई सय रुपैयाँ सम्म भाडा लिएको पाइएको हो ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको छोटो दुरीमा अझ मनपरी भाडा असुलिएको गुनासो आएको पाल्पा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।
छोटो दुरीमा तानसेन प्रभास, डुम्रे झुम्सा, दोभान गोलपार्क खण्डमा दोब्बर देखि तेब्बरसम्म सवारी साधनले भाडा असुल्दा आफूहरू मर्कामा परेको यात्रुहरूको भनाई छ। यस्तै सिद्धार्थ राजमार्गकै आर्यभञ्याङ्ग राम्दी खण्ड, कालिगण्डकी कोरिडोर खण्डको तानसेन रामपुर रुटमा अझ मनलाग्दी भाडा असुलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले संयुक्त अनुगमन समेत सुरु गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्