नेपाली दूतावास र नियोग प्रमुखहरुसँग प्रधानमन्त्री कार्कीको भर्चुअल बैठक

पर्यटन क्षेत्र पुनः लयमा फर्किसकेको र देश सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न पनि निर्देशन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालमा हालै भएको जेनजी प्रदर्शन पछिको नयाँ राजनीतिक परिवेश र त्यसपछि गठन भएको अन्तरिम सरकार र त्यसले गरिरहेका कामहरुबारेमा दूतावास र नियोग प्रमुखहरुलाई जानकारी गराउनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले हाल देशमा आर्थिक गतिविधिहरु पूर्ववत रुपमा सञ्चालन भइसकेकोबारे जानकारी गराउनुहुदै सम्वन्धित मुलुक र सरोकारवालाहरुबीच सो सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको अन्तरिम सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध रहेको भन्नुहुदै आन्दोलनका कारण केहि प्रभावित भएको पर्यटन क्षेत्र पुनः लयमा फर्किसकेकोले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न पनि निर्देशन दिनुभयो ।

त्यसैगरी हालैको प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरुको पुनर्निर्माण गर्न सरकारले पुननिर्माण कोष खोलेकोबारेमा प्रचार प्रसार गरी सहयोग जुटाउन पहलका लागि पनि प्रधानमन्त्रीले विदेशस्थित नेपाली नियोग प्रमुखहरुलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

भर्चुअल सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ठूलो संख्यामा नेपाली समुदाय विदेशमा रहेकोले उनीहरुलाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहमा तदारुकता देखाउन पनि निर्देशन दिनुभएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.