वर्षा र हावाहुरीले रौतहटमा १६ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति

रौतहट- गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण रौतहटमा धानबालीमा ठूलो क्षति पुगेको छ ।
भीषण वर्षापछि बागमती, लालबकैया लगायत नदीमा आएको बाढीका कारण भएको डुबानबाट धानबालीमा ठूलो क्षति पुगेको हो । धानमा बाला लाग्ने बेलामा परेको पानीले धानबाली सखाप पारेपछि किसान चिन्तामा परेका छन् ।
केही धानमा बाला लागेर झुलिसकेको र केहीमा भर्खर बाला लाग्ने बेला भएको थियो । जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली पाकिसक्ने अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको किसानको भनाइ छ ।
वर्षाले जिल्लामा सबभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ भने त्यसपछि तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पुर्याएको छ। वर्षा, बाढी र हावाहुरीका कारण रौतहटमा १६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र गौरले जनाएको छ।
जिल्लामा यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिव १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए ।
कुर्मिका अनुसार वर्षाबाट जिल्लामा १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफल तरकारी, २ सय हेक्टर क्षेत्रफल केरा र २.३२ प्रतिशत हेक्टर क्षेत्रफल लगाइएको फलफूल पूर्ण रूपमा नष्ट भएको छ।
जिल्लामा कुल ५१ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३६ हजार हेक्टर क्षेत्रफल मात्र धानबाली लगाइएको छ। ३६ हजार मध्ये करिव आधा १६ हजार हेक्टर क्षेत्रफल लगाइएको धानबाली वर्षाले सखाप भाएपछि यस वर्ष धान उत्पादन घट्ने भएको छ।
धान रोप्ने बेलामा खडेरी परेको तर धान भित्र्याउने बेलामा भएको अत्याधिक वर्षाले धानबाली, तरकारी, उखु, केरा, फलफूलमा व्यापक क्षति पुर्याएपछि रौतहटका किसान ठूलो समस्यामा परेका छन्।
जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।
वर्षासँगै आएको हावाले धानबालीमा ठूलो क्षति पुर्याएको माधवनारायण नगरपालिका -६ माधोपुरका स्थानीय किसान राम कल्याण राय यादवले बताए । आफूसँग धेरै किसानको धानबालीमा बर्षादले क्षति पुर्याएको उनको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्