सप्तरीमा भीषण आगलागी , एक जना घाइते

सप्तरी- सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा बिजुली सर्ट भएर भीषण आगलागी भएको छ ।
बिहीबार राति बिजुली सर्ट भएर आगलागी हुँदा ५० लाख ३० हजार बराबरको धनमाल तथा चौपाया जलेर नष्ट भएको छ ।
राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनपुर नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागी करिब २ घण्टा लागेको र शुक्रवार बिहान पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हात आगोले पोलिएर घाइते भएका छन् । उनी हाल मधेस प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन् र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्