युवा पुस्ताको असन्तोषलाई शत्रु होइन,सुधारको सन्देशका रूपमा बुझ्नु पर्छ- प्रचण्ड
देशमा स्थिरता र विकासको लागि राजनीतिक दलबीच सहकार्य अनिवार्य

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले हालको राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, संविधान र लोकतन्त्रको संरक्षण, आगामी प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय सहमति र सहकार्यको आवश्यकता लगायत विषयमा विस्तृत धारणा सार्वजनिन गर्नु भएको छ ।
प्रेस सेन्टर नेपालको आयोजनामा आज राजधानी काठमाडौंमा ‘प्रचण्ड’सँग केही संचारमाध्यमका सम्पादकसँग सम्बाद कार्यक्रममा मार्फत प्रचण्डले विभिन्न विषयमा आफ्नो दलको धारणा सार्वजनि गर्नु भएको हो ।
‘नेपाल अहिले संवेदनशील राजनीतिक मोडमा छ । जेनजी आन्दोलनले युवापुस्ताको असन्तोषलाई स्पष्ट देखाएको छ । तर त्यसलाई अवसरका रूपमा लिन सके, देशको राजनीतिक प्रणाली अझ सशक्त र उत्तरदायी बन्न सक्छ । अध्यक्ष प्रचण्डले भन्नुभयो,
राजनीतिक दलले अब युवा पुस्ताको असन्तोषलाई शत्रु होइन,सुधारको सन्देशका रूपमा ग्रहण गर्नुभपर्ने प्रचण्डको भनाइ छ ।
जेनजी आन्दोलन र लोकतन्त्रप्रतिको जिम्मेवारी
अध्यक्ष प्रचण्डले हालैको जेनजी आन्दोलनलाई नेपालमा लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गर्दै आन्दोलनका कारणमा सरकार, राजनीतिक दल र राज्य संयन्त्र सबैले आत्ममूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको अस्तित्व जनताको विश्वासमा टेकेको हुन्छ । त्यो विश्वास कमजोर हुन थाले लोकतन्त्र कमजोर हुन्छ । त्यसैले असन्तुष्टि र आवाजलाई दमन होइन, संवाद र सहमतिले सम्बोधन गर्नुपर्छ ।’ उहाँले आन्दोलनका क्रममा भएका केही घटना दुःखद र अस्वीकार्य भएको उल्लेख गर्दै, शान्तिपूर्ण विरोध जनाउने नागरिकमाथि बल प्रयोग गर्नु गलत भएको स्पष्ट पार्नुभयो । ‘राज्यले सहिष्णुता र जिम्मेवारी देखाउनैपर्छ । लोकतन्त्रलाई बलियो बनाउन विरोध र असन्तोषलाई सुन्न सक्ने संस्कृति विकास गर्नुपर्छ ।’ उहाँको भनाइ थियो ।
संविधानको रक्षा र राजनीतिक स्थिरता
संविधान नेपालको राष्ट्रिय गौरव भएको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई संशोधनमार्फत अझ सशक्त र समावेशी बनाउने आवश्यकता औंल्याउनुभयो । उहाले भन्नुभयो, ‘संविधानलाई स्थिरता र समृद्धिको जग बनाउनुपर्छ । यसका कमजोरीलाई राजनीतिक सहमतिबाट सुधार्ने बाटो रोज्नुपर्छ, अस्थिरता निम्त्याउने बाटो होइन ।’ उहाँका अनुसार देशमा स्थिरता र विकासको लागि राजनीतिक दलबीच सहकार्य अनिवार्य छ । दलबीचको प्रतिस्पर्धा लोकतान्त्रिक स्वस्थता हो तर राष्ट्रका प्रमुख हितका मुद्दामा साझा दृष्टिकोण आवश्यक छ । ‘हामी सबैले देशलाई असफल देखाउन खोज्नेलाई असफल पार्नुपर्छ ।’ उहाँले जोड दिनुभयो ।
आगामी निर्वाचन र जनताको अपेक्षा
अध्यक्ष प्रचण्डले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै त्यसलाई जनताको विश्वास पुनःस्थापना गर्ने मौकाका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रले सामाजिक न्याय, समावेशीता, समान अवसर र युवाको भविष्य सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘हामी जनताको आवाज सुन्न तयार छौं । जनताको शासन बलियो बनाउन र युवापुस्तालाई भविष्यप्रति आशावादी बनाउन हाम्रो पार्टी दृढ छ ।’ उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय सहकार्य र सञ्चार माध्यमको भूमिका
अध्यक्ष प्रचण्डले सम्पादकलाई सम्बोधन गर्दै सञ्चार माध्यमको निष्पक्षता, संयमता र राष्ट्रप्रतिको उत्तरदायित्वबारे विशेष जोड दिनुभयो । उहाँले भन्नुभया, ‘सञ्चार माध्यमले जनताको चेतना निर्माण गर्छ । त्यसैले मिडिया विभाजन होइन, एकताको सन्देश प्रवाह गर्ने माध्यम हुनुपर्छ ।’ उहाँले सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको अभ्यासले मात्र लोकतन्त्रलाई सबल बनाउने उल्लेख गर्नुभयो । सञ्चार माध्यम र राजनीतिक शक्तिबीच सहकार्यको वातावरण सिर्जना गर्न सक्नुपर्छ भन्नेमा उहाँको जोड थियो ।
युवा पुस्ताप्रतिको विश्वास र सामाजिक न्याय
उहाँले नयाँ पुस्तालाई देश निर्माणको अग्रपंक्तिमा ल्याउन राज्यले स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभयो । शिक्षित र सीपयुक्त युवाको क्षमता देशभित्र उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । ‘युवालाई सुन्नु भनेको भविष्यलाई सुन्नु हो ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यदि हामीले युवाको सपना सुन्न सकेनौं भने हामी भविष्यप्रति उत्तरदायी रहँदैनौं ।’






प्रतिक्रिया राख्नुहोस्