प्रहरीले बरामद गरिएको १३१ किलो लागू औषध नष्ट

रौतहट- रौतहट प्रहरीले केही दिनअघि बरामद गरिएको करिब एक सय ३१ किलो गाँजा (लागू औषध) आज सार्वजनिक रूपमा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, पत्रकार र सरोकारवालाको उपस्थितिमा उक्त लागू औषध जलाएर नष्ट गरेको हो।
प्रहरीका अनुसार उक्त गाँजा केही महिनादेखि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा थियो। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग–३–च–६८९६ नम्बरको ब्रेजा कारलाई प्रहरीले चेकजाँचको क्रममा रोक्न खोज्दा चालकले गाडी नरोकी भाग्न खोजेका थिए।
सो क्रममा प्रहरीले तत्कालै पछ्याइ गरी कार र गाँजा बरामद गरेको थियो। नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी प्रमाणका रूपमा राखिएको लागू औषधलाई आज प्रमाण नष्ट गर्ने निर्णयअनुसार जलाइएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख शङ्कर प्रसाद आचार्य, स्थानीय प्रतिनिधि तथा सञ्चारकर्मीहरू उपस्थित हुनुहुन्थ्यो। आचार्यले भन्नु भयो, “लागू औषध दुर्व्यसनले समाजमा गम्भीर असर पारिरहेको छ। सयविरुद्धको हाम्रो अभियान निरन्तर जारी रहनेछ।”
प्रहरीले अवैध रूपमा लागू औषध कारोबार तथा सेवन गर्नेहरूमाथि निगरानी कडा पार्ने र आगामी दिनमा पनि नियमित अपरेसन जारी राख्ने जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्