मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै

काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ।
प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लाग्नुभएको हो ।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन आग्रह गर्नुभएको थियो। सोही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको हो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्नुभएको थियो । तर अन्तरिम सरकार गठनपछि उहाँले कुरा फेर्नुभएको थियो। उहाँले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आउनुभएको छ ।
मुख्यमन्त्रीले अडान फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।





प्रतिक्रिया राख्नुहोस्