पाल्पामा बौद्ध परम्परा अनुसार ‘कथिन चीवर दान उत्सव

पाल्पा- पहाडी जिल्ला पाल्पामा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ ।
दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा वर्षा बासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरी उत्सव मनाइएको हो ।
भिक्षुले लगाउने पहेँलो वस्त्र चीवर र भिक्षा पात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् ।
अनुशासित र नियमपूर्वक तीन महिने वर्षा बास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ । प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा सम्म तीन महिना भिक्षुहरू वर्षा बास बस्ने परम्परा छ । यसरी वर्षा बास बसेका भिक्षुहरूका लागि कथिन चीवर दान गर्ने गरिन्छ ।
विहारका अध्यक्ष सञ्जयराज शाक्यले अनुसार लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्यान्ड, भारत, अछामबाट भिक्षुहरू वर्षा बासका लागि तानसेन आउनु भएको छ । दान गर्नुअघि भीमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा टुँडिखेल, तेस्रो सडक, शीतल पाटी, टक्सारटोल, नारायण स्थान हुँदै टुँडिखेलमा पुगेर महोत्सवमा परिणत भएको भिक्षु प्रियदर्शी महास्थवीरले बताउनुभयो ।
तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो ।
तानसेनस्थित ज्ञान माला सङ्घ आनन्द विहारमा बर्खा बास बसेका भिक्षु अनिरुद्ध सहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर दान, अष्ट परिष्कार दान गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्