लेकका खर्कबाट घरआँगनमा झारिए याकचौरी

मनाङ- बाहिरिने बेलामा यसवर्ष मनसुनी वायु निकै सक्रिय भएर बाहिरियो । मनसुनी वायु बाहिरिनासाथ ह्वात्तै चिसो पनि बढ्यो । चिसो ह्वात्तै बढ्दा हिमाली जिल्ला मनाङका याकचौरी लेकका खर्कबाट छिट्टै घरआँगन छेउमा झारिएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान याञ्छु खाण्टा लामा भन्नुहुन्छ, “पहिलाभन्दा अहिले छिटो चिसो बढेको छ । चिसो बढेसँगै लेकबाट घरआँगनमा याकचौरी झारिएको हो ।” मौसम बिग्रियो पहिले त्यसपछि चिसो ह्वात्तै बढेपछि लेकका खर्कमा राख्न मुस्किल हुन्छ भनेर तल झारिएको उहाँ बताउनुहुन्छ ।

उच्च लेकमा रहेका याकचौरी चिसो बढेसँगै बेसी झारिएको उहाँ बताउनुहुन्छ । “हिउँद यामको मौसममा उच्च लेकको खर्कमा चिसो र हिमपात हुने भएकाले लेकमा पालिएका याकचौरी बेसी (घरआँगन)मा सारिएको हो”, उहाँ भन्नुहुन्छ, “वर्षेनी हिउँद यामको मौसममा लेकका खर्कमा पालन गरिएका याकचौरी व्यवस्थापनमा निकै चुनौती हुने भएकाले याकचौरी बेसीमा झाने प्रचलन रहेको छ ।”

हिउँदमा हिमालको फेदमा पालन गरिएका याकचौरीलाई सम्भावित हिमपातले जोखिम हुने, चरन क्षेत्र पुरै हिउँले ढाकिने र  अत्यधिक चिसोका कारण याकचौरी गोठाला लेकको गोठमा बस्न नसक्ने हुँदा याकचौरीलाई  बस्ती नजिक झार्ने गरिएको पशुपालक किसान बताउँछन् । हिउँदमा बस्तीमा हिउँ परेपनि चाँडै पग्लिने, गोठाला तथा पशुचौपायालाई न्यानो हुने र पशु आहार दिन समेत सजिलो हुने हुँदा याकचौरी बस्ती छेउ झार्ने गरिएको याञ्छु बताउनुहुन्छ ।

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका पशुपालक मिचुङ गुरुङ चिसो बढेसँगै खर्कबाट याकचौरी बस्ती छेउ झारिएको बताउनुहुन्छ । उच्च लेकका खर्कमा चिसो र हिमपातले चरन क्षेत्र ढाकिँदा याक चौरीलाई घाँसको अभाव हुने, पशु आहार पकाएर दिन र गोठालालाई पकाएर खान बस्न सास्ती हुने पशुपालक गुरुङको भनाइ छ ।

यहाँ पालिएका याकचौरी मासु र चौरीको दूधबाट बन्ने विभिन्न परिकार बनाएर बिक्री गरिन्छ । याकचौरी पालक किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले माथिल्लो मनाङका लेकमा लगिएका याकचौरी झारिएको छ भने तल्लो मनाङका याकचौरी लेकमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माथिल्लो मनाङमा खेतीपाती भित्र्याएपछि लेकका खर्कबाट याकचौरी झारिन्छन् । तल्लो क्षेत्रमा खेतीपाती थन्क्याउने बेला भएको छैन । त्यसैले तल्लो भेगका याकचौरी लेकका खर्कमा नै छन् ।”

जिल्लामा करिब चार हजार भन्दा बढीको याकचौरी रहेको अध्यक्ष थकालीले जानकारी दिनुभयो । मनसुनी वायु सकिए लगत्तै माथिल्लो मनाङका किसानले रैथाने बाली फापर थन्क्याएपछि याकचौरी लेकबाट झारिएका हुन् । मनाङको मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली काट्ने, चुट्ने कार्य सकाएर थन्क्याएपछि यहाँका घाँस खान लेकबाट याकचौरी झारिएको छ ।

तल्लो भेगका याकचौरी लेकबाट केही स्थानका याकचौरी कात्तिक १५ देखि र केही स्थानका याकचौरी मङ्सिरको पहिलो साता घरआँगन छेउमा ल्याउने गरिन्छन् । माथिल्लो क्षेत्रमा खेतीपाती भित्र्याइसकिएको छ भने तल्लो भेगमा खेतीपाती भित्र्याउने बेला भएको छैन । खेतीपाती भित्र्याएपछि लेकबाट याकचौरी घरआँगनमा झारिदा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरेका छन् । माथिल्लो मनाङमा घर वरपर याकचौरी देखिँदा पर्यटकको आकर्षणको केन्द्र समेत बनिरहेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.