चकटी, गुन्द्री, टपरी देखि स्वचालित डस्टबिन सम्म बनाउँदै मकवानपुरका विद्यार्थी

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले दशैं–तिहार बिदाको समयलाई सिर्जनशील र उपयोगी बनाउँदै विद्यार्थीलाई विभिन्न जीवन उपयोगी सीप र व्यावहारिक ज्ञान सिकाएको छ ।

विद्यालयले आयोजना गरेको स्किल क्याम्प मार्फत विद्यार्थीहरूले परम्परागत सीपदेखि अत्याधुनिक वैज्ञानिक आविष्कार सम्मका ज्ञान सिक्ने अवसर पाएका छन् । १० दिनसम्म स्किल क्याम्पमा सिकेको सीप अन्तिम दिन विद्यार्थीहरूले आफ्नै हातले बनाएका विविध सामग्री प्रदर्शन गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले खोस्टाको चकटी, परालको गुन्द्री, टपरी जस्ता परम्परागत सीपका सामग्रीका साथै आधुनिक प्रविधि प्रयोग गरेर बनाइएका स्वचालित डस्टबिन, दृष्टिविहीनले प्रयोग गर्ने सेन्सर डिटेक्ट छडी, वेदर स्टेशन, एलपी ग्यास लिकेज पत्ता लगाउने अलार्म यन्त्र प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले आफैं मैनबत्ती बनाएर बिक्रीसमेत गरेका छन् । त्यस्तै, कक्षाकोठाबाट निस्किएको फोहोर कागजबाट नयाँ कागज बनाउने र सोही कागजबाट निमन्त्रणा कार्ड तयार गर्ने कार्यसमेत विद्यार्थीले गरेका छन् । विद्यालयले फोहोर विद्यालयमै व्यवस्थापन गर्ने नीति अवलम्बन गर्दै कम्पोष्ट पिट निर्माण गरेको छ । जसमा विद्यार्थीहरूले जैविक फोहोर संकलन गरी मल उत्पादन गर्ने सीप सिकेका छन् । विद्यार्थीहरूका अनुसार यस्तो सीप सिक्ने अवसरले पढाइ रमाइलो र अर्थपूर्ण बनेको छ । किताबमै भएका कुरा आफ्नै हातले बनाउन सक्ने हुँदा पढाइप्रति रुचि बढेको उनीहरूले बताएका छन् ।

विद्यार्थीलाई आत्मनिर्भर, जिम्मेवार र सिर्जनशील बनाउने लक्ष्यका साथ विद्यालयले एक कक्षा, एक सीप सिद्धान्तअनुसार शिक्षणक्रम अघि बढाएको छ । सोही अवधारणाअन्तर्गत विद्यार्थीले सिलाइ–बुनाइ, रोबोट निर्माण देखि धान खेती सम्म गरेका छन् । विद्यालय परिसरमै विद्यार्थीहरूले अर्गानिक धान खेतीका साथै मौसम अनुसार मकै र आलु पनि लगाउने गरिएको छ । गुन्द्री र चकटी बनाउन प्रयोग हुने पराल र खोस्टा जस्ता कच्चा पदार्थ विद्यालयकै धान र मकैबाट उत्पादन हुने गरेको छ ।

विद्यार्थीहरूले आफ्नै हातले रोपेको धानबाट उत्पादन भएको चामल विद्यालयको खाजामा प्रयोग गरिन्छ । साथै, विद्यालयमा आउने अतिथि र अभिभावकलाई सोही धानको चामलबाट बनेका सामग्री कोसेलीका रूपमा प्रदान गर्ने गरिएको छ । कक्षा ४ देखि माथिका विद्यार्थी सहभागी भएको सीप क्याम्पको उद्देश्य कक्षाकोठाको ज्ञानलाई व्यवहारिक बनाउने रहेको विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीले बताउनुभयो ।

अभिभावकहरू पनि विद्यालयको यस्तो सिकाइ अभ्यासबाट उत्साहित देखिएका छन् । घरमा सिकाउन नसकिएको सीप विद्यालयले सिकाएकोमा खुशी भएका छन् ।

यस विद्यालयमा हाल ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.