पहिलोपटक चौँरी पालन

रुकुम पुर्व – लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा पहिलोपटक चौंरी पालन परिक्षण गरिएको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका १ र २ मा चौँरी पालन परिक्षण सफल भएको छ । दुई वर्ष अघि डोल्पाबाट खरिद गरी ल्याइएको पुथाउत्तरगङ्गाको बुकी पाटनमा पालन सुरु गरिएको चौँरी फस्टाइ राखेका छन् ।
लुम्बिनी प्रदेश सरकारको आठ लाख र गाउँपालिकाको १० लाख जम्मा १८ लाख रुपैयाँमा २८ वटा चौँरी खरिद गरी ल्याइएको पुथाउत्तरगङ्गा गाउँपालिका १ नम्बर वडाध्यक्ष बिरमान कामीले बताउनुभयो । किनेको दुई वर्षपछि हाल उक्त चौँरी ४३ वटा पुगेका छन् । दुई वर्षमै १५ वटा वृद्धि भएकाले यसले पुथाउत्तरगङ्गा १ र २ का बुकी पाटनमा चौँरी पालन फस्टाउने देखिन्छ ।
जिल्लामा मात्र नभएर प्रदेशमै पहिलो पटक चौँरी पालन सुरु गरिएको छ । लम्छुङ, देउराली, सिङखोला, गुरगाड, निमकुङ, फूलबारी, पुपाल, पानीदाल, पूर्बाङ, गोराङ लगायतका बुकी पाटनमा चौँरी पालन गरिएको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।
चौँरीको रेखदेख १ र २ नम्बर वडाका दुई कृषक समूहले गरिराखेका छन् ।परीक्षणका लागि दुई वर्ष अघि चौँरी खरिद गरी पालन सुरु गरिएको थियोे परीक्षण सफल भएको छ, अब चौँरी पालनलाई व्यवसायिक तर्फ लैजाने अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
चौँरी बहुउपयोगी पशु हुनुका साथै जहाँ त्यहीँ पालन नहुँने हुँदा यस जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सहयोग मिल्ने गाउँपालिकाले जनाएको छ ।
चौँरीबाट मासु उत्पादन, भारी बोक्ने, दूध बाक्लो हुने भएकोले धेरै घिउ पर्ने र ऊन उत्पादन हुने भएकोले चौँरी पालन बहुउपयोगी रहेको पाइन्छ । चौँरी पालन फस्टाइ राखेकाले यसबाट आर्थिक आर्जन गर्ने तर्फ योजना बनाइ राखेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्