तिहारमा मखमली, सयपत्री फूलेपछि… (फोटोफिचर)

म्याग्दी- नेपालीहरुले दोस्रो महान् पर्व तिहार मनाइरहेका छन । धन कमाउने आशमा मुग्लानमा पसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि दसैँ र तिहार पर्वको अवसर पारेर आफ्नो गाउँघर फर्किएका छन् ।
वर्ष दिनमा घुम्दै आउने दसैँ, तिहारलगायत ठूला चाडपर्वमा यतिबेला गाउँका घरहरु पनि रातो, पहेँलो माटो र सेतो कमेरो पोतिएपछि बेहुली जस्तै सिँगारिएका छन् ।
गाउँघरमा हालिने लिङ्गेपिङ र रोटेपिङले समेत चाडबाडको मौसमलाई थप रमणीय बनाइदिएको छ । सहर, बजारमा बिजुली बत्तीले झिलीमिली भएको छ भने गाउँघरमा ढकमक्क फूलेका सयपत्री, मखमली, तिहारे, गोदावरी र गुलाबीलगायत फूलहरुले गाउँ नै रङ्गिएको छ ।
हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पनि फूलेका फूलहरुले तिहारको रौनक छाएको छ । सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्मै सयपत्री र मखमलीलगायत फूलहरु फूलिरहेका छन् ।
यमपञ्चकको आज दोस्रो दिन अर्थात् कुकुर तिहार । यतिबेला गाउँघरमा तिहारलाई लक्षित गरेर ढकमक्क फुलेका सयपत्री, मखमली र गोदाबरी फुलको बास्नाले गाउँ नै मगमग बसाएको छ । निलो आकाशसँगै  मौसम खुलेको छ अनि ढकमक्क फूलेका फूलहरुको कारण गाउँघर अहिले निकै सुन्दर, आकर्षक र मनमोहक देखिएका छन् ।
घरको करेसाबारी, आँगन, डिल, खेतबारी, कान्ला, फूलबारी र खोल्सा–खोल्सीमा फुलेका फुलहरुले तिहार पर्व नजिकिएको सङ्केत गर्दछन् । सहर, बजारमा पनि रङ्गेली रङहरु, झिलीमिली बत्ती, विभिन्न प्रकारका फूलहरु र मालाले तिहार पर्वलाई स्वागत गरिरहेको देखिन्छ ।
तिहारमा फुलेका फूलहरुले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकहरुलाई समेत आकर्षित गरेको छ । नेपाली समाजमा तिहार पर्वलाई उज्यलो र फूलै फूलको पर्वको रुपमा लिने गरिन्छ ।
तिहारको अन्तिम दिन भाइटीकाको दिनमा मखमली, सयपत्री, थुङ्गे, गोदाबरीलगायत फूलहरु गाँसेर बनाएको माला लगाइन्छ । परापूर्वकालदेखि नै तिहारमा यिनै फूलहरुको माला लगाइने कार्यले निरन्तरता पाएको छ ।
यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायत फूलहरु अनिवार्य रुपमा प्रयोग गर्ने गरिन्छ । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नको लागि पनि तिहारमा सयपत्री, मखमलीलगायत फूलहरुको खेती गर्ने र खरिद–बिक्री समेत हुने गरेको पाइन्छ ।
यी फुलहरुको माग उच्च हुने गर्दछ । कतिपयले पुष्प खेती गरेरै तिहार पर्वमा फूल बिक्रीबाट मनग्गे आम्दानी समेत गर्दै आइरहेका छन् । तिहार पर्व दाजुभाइहरु र दिदीबहिनीहरुको बीचमा आत्मीयता साटासाट गर्ने तथा सम्बन्ध थप प्रगाढ बनाउने पर्वको रुपमा रहेको छ ।
तिहार पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । मृत्युका देवताको रुपमा मानिने यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् ।
यमुनालाई आफ्नो दाजुसँग भेट्ने तीव्र इच्छा भएपछि विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेटघाट गर्नको लागि आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष सुरुमा काग र त्यसपछि क्रमशः कुकुर, गाई र अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यसरी पाँच दिनसम्म तिहार पर्वलाई विधिसम्मत तरिकाले मनाउने गरिन्छ ।
 
तिहार पर्वमा झिनियाँ, सेलरोटी, मिठाई जस्ता मीठा–मीठा परिकारहरु बनाएर खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न फूलहरुको माला उनेर मालासँगै निधारमा सप्तरङ्गी टिका लगाएर तिहार पर्व मनाउने प्रचलन सदियौंदेखि चलिआएको हो ।
तिहार आएसँगै गाउँघरमा सयपत्री, मखमली, गोदाबरीलगायत फुलहरु ढकमक्कै फूलेको बेनी नगरपालिका–५, चिप्लेटीकी अगुवा महिला यामकुमारी खत्रीले जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.