सिरहा-धनुषा जोड्ने कमला पुल भासिँदा आवागमनमा समस्या

सिरहा- सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदीमाथि को पुल भासिएपछि आवागमनमा ठुलो समस्या परेको छ।
लामो समयदेखि निर्माणाधीन यो पुल अझै सम्पन्न हुन सकेको छैन।
पुल भासिएसँगै स्थानीयवासी र यात्रुहरूलाई दैनिक जोखिमसहित यात्रा गर्नुपर्ने बाध्यता आएको छ। वि.सं. २०६८ सालमा सुरु गरिएको कमला नदीमाथिको हुलाकी पुलको निर्माण कार्य १३ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।
ठेकदार कम्पनीले पटक–पटक म्याद थप्दै आए पनि काम सुस्त गतिमा अघि बढिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मुख्य पुल भासिएपछि अहिले यात्रुहरूले डुंगा र अस्थायी काठे पुलमार्फत नदी पार गर्नुपरेको छ।
वर्षायाममा नदीमा पानीको बहाव बढ्दा यात्रुहरूलाई ठूलो जोखिम हुने गरेको छ। सवारीसाधनका लागि पुल प्रयोग गर्न नसक्दा सिरहा–धनुषा जोड्ने हुलाकी सडक आंशिक रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्र भएर यात्रा गर्ने यात्रुहरूलाई सचेत र सतर्क रहन आग्रह गरेको छ। साथै, सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।
संघीय सडक विभागका अनुसार पुल पुनर्निर्माणका लागि नयाँ योजना तयार पारिँदैछ। तर, बजेट अभाव र पुरानो ठेक्का प्रक्रियामा देखिएको समस्याका कारण काम सुस्त गतिमा अघि बढिरहेको बताइएको छ।
स्थानीयवासीहरूले लामो समयदेखि समस्या झेल्नुपरेको भन्दै सरकार र ठेकदार कम्पनीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। “पुल बनाउने भनेर वर्षौं भयो, अहिले त डुंगामा जानुपर्ने अवस्था छ,” एक स्थानीयवासीले बताए।
उनीहरूले तत्काल पुनर्निर्माण कार्य अघि बढाउन माग गरेका छन्।
कमला नदीमाथिको यो पुल भासिएसँगै सिरहा–धनुषा क्षेत्रको आवागमन अत्यन्त जोखिमपूर्ण बनेको छ। स्थानीय र यात्रुहरू दुवैले शीघ्र समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।।





प्रतिक्रिया राख्नुहोस्