थालियो बुटवलमा मनोपोल जडान गर्ने काम

रुपन्देही – नेपालको विद्युत् प्रसारण इतिहासमा नयाँ अध्याय थप्दै बुटवलमा पहिलो पटक १३२ केभी डबल सर्किट प्रसारण लाइनमा ३० मिटर अग्लो मोनोपोल टावर जडान कार्य सुरु गरिएको छ ।
बुटवलको योगिकुटी कालिका पथदेखि होराइजन चोक हुँदै जाने १३२ केभी डबल सर्किट प्रसारण लाइनमा चारखुट्टे टावर हटाएर मोनोपोल जडान थालिएको हो । विद्युत् प्राधिकरणको बुटवल ग्रिड डिभिजनका महाशाखा प्रमुख अनिल बन्जाडेले करिब एक किलोमिटर क्षेत्रमा रहेका चार वटा टावर हटाएर मोनोपोल जडान कार्य थालिएको जानकारी दिनुभयो ।
सडक खण्डमा ३०÷३० मिटरका दुई वटा र ३२÷३२ मिटरका दुई वटा मोनोपोल जडान गरिने योजना अनुसार शनिवारबाट काम सुरु गरिएको हो । प्रसारण लाइन सात दिन सट डाउन गरी मोनोपोल जडान र तार प्रतिस्थापन कार्य सुरु गरिएको हो।
सडक र प्रसारण लाइनको दूरी कम भएकाले ठुला गाडीले लाइन छोएर दुर्घटना हुनसक्ने जोखिमलाई न्यून गर्न मोनोपोल जडान गरिएको हो । हाल सडक र लाइनबिचको दूरी ६ मिटरभन्दा कम छ ।
मोनोपोल जडानपछि यो दूरी करिब ९ मिटरको हुनेछ । हाल चारखुट्टे टावरको बेसमेन्ट व्यास करिब ८ मिटर रहेकोमा मोनोपोलको बेसमेन्ट व्यास करिब २।५ मिटर मात्र रहेकोले सडक फराकिलो हुने र आवागमन सहज हुने प्राधिकरणले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्