मनाङमा लेक लागेर दुईजना पर्यटक सहयोगीको मृत्यु

लमजुङ-  हिमाली जिल्ला मनाङमा लेक लागेर दुईजना पर्यटन सहयोगीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङका एकजना र नुवाकोटका एकजना रहेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार लेक लागेर मृत्यु भएको हो । मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुईजनाको टोली एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मणिपाल अस्पतालमा बिहान करिव ११ बजे चिकित्सकले उनको मृत्यु पुष्टि गरेको प्रहरीलाई उधृत गर्दै मनाङका प्रजिअ पौड्यालले बताउनुभयो । मृतकका भाइ केशबहादुर गुरुङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजे नै डिलबहादुरलाई लेक लागेको थियो ।

त्यसैगरी शनिवारकै दिन नार्पाभुमी गाउँपालिका.–४ याकखर्कमा पनि अर्का पर्यटन सहयोगीको पनि मृत्यु भएको प्रजिअ पौड्यालले जानकारी दिनुभयो । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–१ का अन्दाजी ४९ वर्षका साम्बा घलेको लेक लागेर मृत्यु भएको हो ।
पर्यटकको भारी बोकी फर्कने क्रममा घले शुक्रबार करिव ३ बजेको समयमा लेक लागी घटनास्थलमा मृत्यु भएको भन्ने प्रहरीमा खबर आएको थियो । मृतकका ज्वाई मारिस तामाङले प्रहरीलाई खवर गरेका हुन् ।

मौषम खराबिका कारण मृतक घलेको उद्दार हुन नसकेको र हाल घटनास्थलमा करिव १४ किलोमिटर टाढा रहेको च्याखु प्रहरी चौकीबाट प्रहरी खटाईएको पनि मनाङ प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.