लाेकआस्थाकाे पर्व छठकाे मुख्य दिन आज “सँझिया घाटे”, अस्ताउँदाे सूर्यलाई अर्घ दिने तयारी

 वीरगञ्ज-  तराई मधेसको साझा सांस्कृतिक धरोहरकाे पर्व छठकाे तेस्रो दिन आज व्रतालुहरु सँझिया घाटकाे तयारीमा व्यस्त भएका छन् ।

छठकाे मुख्य दिन आज छठका लागि किनिएका सरसामग्री धाेएर शुद्धीकरणका साथ अर्घ सजाउनमा सबै व्यस्त भएका हुन् । आज साँझ व्रतालुहरुले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिनेछन् ।

कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वकाे तेस्रो दिन अर्थात् षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ ।

साँझ व्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सुर्य र छठी मातालाई अर्घ दिएर आजकाे विधि पुरा गर्नेछन् भने भाकल पूरा भएकाहरुले दण्ड भाक्ने तथा काेशी भर्ने प्रचलन छ । पर्साकाे ग्रामिण क्षेत्रका नदी, तलाउ, पाेखरी सहित वीरगञ्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदि , नगवा , छपकैया लगायतका स्थानमा रहेका जलाशय स्थित छठघाटहरुमा सूर्य अस्ताउने समय पर्खिने व्रतालुहरुकाे भिड लाग्ने गर्दछ ।

छठ गर्ने घरघरमा सुर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गएराति नै गहुँ तथा चामलको पिठोकाे ठेकुवा, पुरी लगायतका प्रसाद बनाइसकिएकाे छ ।

यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका विभिन्न प्रकारका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिनका लागि तयार गरिएका छन् ।

छठ पर्बको अन्तिम अर्थात् सप्तमी तिथी भोली (मंगलबार) बिहान व्रतालुहरुले पुन: छठघाटमा पुगेर उदाउँदो सुर्य र छठीमातालाई अर्घ दिएसँगै छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।

यसअघि आईतबार बिहान देखि निर्जला व्रत लिएका व्रतालुहरुले हिजाे साँझ नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा नयाँ चुलोमा साठीको चामल, दुध र सख्खरको खीर तथा गहुँको रोटी प्रसादका रुपमा पकाएर उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि छठी मातालाई चढाएर पूजापाठ गरेका थिए ।

छठ पर्व गत शनिबार देखि विधीवत रुपमा सुरु भएको हो ।

कात्तिक शुक्लपक्षमा चार दिन सम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाए भन्ने गरिन्छ । उक्त दिन व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भई लुसन र प्याज बेगरको शुद्ध साकाहारी खाना खाएका थिए ।

सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न प्रेरित गर्ने तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ । दुःख र दरिद्रताबाट मुक्ति पाइने धार्मिक विश्वासका साथ सबैले साझा मान्ने छठ पर्वलाई श्रद्धा, समर्पण र आत्मसंयमताकाे पर्वका रुपमा लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.