पोखरामा बिजुलीको तामाको तार चोर्ने गिरोह सक्रिय

कास्की- नेपाल विद्युत्  प्राधिकरणका चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समूह पोखरामा सक्रिय भएको छ ।

त्यस्तो समूहले पोखराका विभिन्न भागमा त्यसरी तामाका तार चोर्ने गर्ने गरेको पाइएको छ । पोखरा–१८, ग्यारजाती र पोखरा–२२, पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी भएको नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

यस्तै वडा नं. १८ का सुन्दर चौतारा, पदेंली, वडा नं. २१ का पोख्रेल थोक तथा अन्नपूर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि तार चोरी भएका छन् ।

तार चोरी भएपछि त्यस स्थानबाट विद्युत् सेवा प्रवाह गर्ने विभिन्न ठाउँका उपभोक्ता सेवाबाट वञ्चित नै हुनुपरेको छ । निरन्तर तार चोरी गर्ने क्रम बढेपछि प्राधिकरणले सूचना नै निकालेर विद्युत् सेवा उपलब्ध गराउने स्थानका ट्रान्सफर्मर क्षेत्र वरपर अपरिचित व्यक्ति देखिए वा भेटिए जानकारी गराउन अनुरोधसमेत गरेको छ ।

प्राधिकरणले त्यस्ता व्यक्ति वा समूहको पहिचान भएमा वा ट्रान्सफर्मर वरपर शङ्कास्पद व्यक्ति वा समूह देखिएमा प्रहरी प्रशासन अथवा नो लाईट नम्बर ०६१–५७००३० र ०६१–५७००३१ मा जानकारी गराई सहयोग गर्न ग्राहकलाई आग्रहसमेत गरेको छ ।

निरन्तर रुपमा तार चोरी गर्ने कार्य ग्रामीण भेगमा बढी देखिएको प्राधिकरण पोखरा वितरण केन्द्रका ग्रामीण शाखा इन्चार्ज शोभा कर पौडेलले बताउनुभयो।

सेवा नै अवरुद्ध पार्ने गरी भएका कार्यप्रति प्राधिकरणले गत असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीको समेत ध्यानाकर्षण गराएको थियो। उसले चोरी कार्य बढेको भन्दै, ट्रान्सफर्मर जडान गरिएको क्षेत्रमा सुरक्षा माग गरेको छ ।

प्राधिकरणले चोरी कार्यमा सक्रिय समूहको पहिचान गरी कारबाही गर्न पनि माग गरेको हो। असहज परिस्थितिमा पनि प्राधिकरण सबै जनतालाई निरन्तर विद्युत् सेवा उपलब्ध गराउन रात दिन तत्पर रही कार्य गरिरहेको इन्चार्ज पौडेलले बताउनुभयो। सीमित स्रोत, साधन र भौगोलिक कठिनाइका बाबजुद पनि उपभोक्तालाई सहज सेवा उपलब्ध गराएको प्राधिकरणले उल्लेख गरेको छ ।

पोखरा वितरण केन्द्रबाट १ लाख बढी ग्राहकलाई  विद्युत्  सेवा उपलब्ध गराउँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.