तनहुँमा चितुवाको आक्रमणबाट एक महिला घाइते

तनहुँ- तनहुँमा चितुवाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको व्यास नगरपालिका–८ ढाँडमा बुधवार साँझ ८ः१५ बजे घरको आँगनमा चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट २२ बर्सिया आशिका पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घर बाहिर भाँडा माझ्ने क्रममा अचानक चितुवाले आक्रमण गरेपछि उनका श्रीमान् रोशन पौडेलले चितुवालाई भगाएका थिए । श्रीमती चिच्याएपछि बाहिर निस्कँदा चितुवा देखा प¥यो र धपाएर भगाएको श्रीमान् रोशनको भनाई छ । पौडेलको छाती र तिघ्रामा चोट लागेको छ ।
स्थानीयवासीको सहयोगमा महिलालाई उद्धार गरी उपचारका लागि लमजुङ मध्य नेपाल नगरपालिका ४ स्थित दुईपिप्ले अस्पतालमा उपचार भएको स्थानीय ज्ञानेश्वर मिश्रले जानकारी दिनुभयो । व्यास ८ वडा कार्यालय नजिकै घरको आँगनमै आएर चितुवाले आक्रमण गरेपछि सो क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । घरको आँगनमै चितुवाले आक्रमण गरेपछि स्थानीय चिन्तित भएको व्यास–८ का वडा सदस्य रामप्रसाद मिश्रले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्