धनकुटा–पाँचथर जोड्ने तमोर–करिडाेर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

धनकुटा – अविरल वर्षाका कारण धनकुटा–पाँचथर जोड्ने तमोर–करिडाेर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको तुम्बे गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ सिमानास्थित नावा खोलामा बाढी आएपछि सडक बगाएर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
नावा खोलामा पानीको बहाव तीव्र भएपछि सडकको केही भाग बगाएको र आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीका अनुसार हो। घटना स्थलमा प्रहरी टोली खटिएको छ। हाल पाँचथरतर्फ तीन वटा र धनकुटातर्फ चार वटा ट्रक सडकमा रोकिएका छन्। अवरुद्ध सडक सुचारु गर्नका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। नावा खोलामा निर्माणाधीन पक्की पुल अझै नसकिएका कारण अस्थायी बाटो प्रयोगमा रहेको र वर्षाका कारण बाढीले सो बाटो बगाएको बताइएको छ।
वर्षा रोकिएपछि मात्रै सडक मर्मत र आवागमन पुनः सुचारु गर्ने कार्य सुरु गरिने प्रहरीले जनाएको छ ।
त्यस्तै धनकुटाको भेडे टार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडे टार डाँडा बजार खण्डको थुम्की र लुफाफुङ क्षेत्र पहिरोले अवरुद्ध बनेको छ। पहिरो खसेपछि सडक दुवै तर्फबाट सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
सडकमा ठुलो मात्रामा पहिरो खस्दा यात्रु र सवारी साधन दुवै तर्फ अड्किएका छन्। लगातारको वर्षाले पहिरो पन्छाउने काम गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ। साँघुरी गढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार निरन्तरको वर्षाका कारण तत्काल पहिरो पन्छाउने काम सम्भव छैन। उहाँले जोखिमपूर्ण अवस्थाका कारण केही समयका लागि यात्रामा नजान सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्