संस्कृति अध्येता डा. शशी थापा पण्डितका तीन कृति सार्वजनिक

काठमाडौँ- संस्कृति अध्येता डा.शशी थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण गरिएका छन।
काठमाडौँमा आयोजित एक समारोहकाबीच डा थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरू’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरू लोकार्पण गरिएको हो ।
इतिहासविद् दिनेशराज पन्त, प्राडा.पेशल दाहाल र संस्कृतिविद् डा.जगमान गुरुङले संयुक्त रूपमा ती कृतिहरूको लोकार्पण गर्नु भएको हो ।
कार्यक्रममा कृतिकार डा.शशी थापा पण्डितले तीनवटै कृतिको रचना गर्भको चर्चा गर्नुभयो ।
‘मल्लकालिक नेपालका नारीहरू’ कृतिमाथि चर्चा गर्दै दिनेशराज पन्तले मल्लकालको सामाजिक, आर्थिक, धार्मिक अवस्थासहित नारीहरूको अवस्था पनि चित्रण गरेको बताउनु भयो ।
कार्यक्रममा प्राडा.पेशल दाहालले कामकलाजस्तो समाजले नै पचाउन नसक्ने विषयमा पिएचडीको शोध गरेकोले गाइड गर्न, सामग्री उपलब्ध गराउन, निर्देशन दिन पनि सुरु सुरुमा त कठिन भएको उल्ले गर्नु भयो । पुस्तकमा प्रयोग भएका तस्वीरहरू चाहिँ साना र अस्पष्ट भएकाले कलाको मूल्य मरेको बताउनुभयो ।
संस्कृतिविद् डा.जगमान गुरुङले कामकला शास्त्रमा कृति प्रकाशन गर्ने हिम्मत डा.थापाले गरेको भन्दै यो नेपालको धर्तीपुत्रले लेखेको पहिलो किताब भएको बताउनुभयो ।
कार्यक्रममा डा.विणा पौड्यालले नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनजस्ता उच्चकोटिका संस्थाबाट पुस्तक निस्किनु नै गौरवको कुरा भएको बताउनुभयो ।
नेपाल आदर्श महिला संघ, बालाजु, काठमाडौँले आयोजना गरेको कार्यक्रममा संघले डा.थापालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान पनि गरेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्