पुरानै भवनमा प्रदेश सभा बैठक बसाउने गरि सचिवालयको तयारी तिव्र

कैलाली- पुरानै भवनमा प्रदेश सभा बैठक बसाउने गरि सुदुरपश्चिम प्रदेश सभाको सचिवालयले तयारी तिब्र रुपमा गरिरहेको छ । गत भदौ २४ को जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । प्रदेश सभाको भवन उपयोग गर्न सकिने प्राविधिकहरुले सुझाएपछि सचिवालयलाई मर्मत गर्ने कार्य भइरहेको सचिवालयले जनाएको छ ।
आगलागीबाट कुरुप बनेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयको मर्मत र सरसफाईको काम भईरहेको छ । गेट मर्मत हुनुका साथै बैठक भवनभित्र नष्ट भएका फर्निचरहरु एक ठाउँ राखिएका छन भने आगलागिबाट क्षति नभएका कुर्सी टेबललाई सुरक्षित राखिएको छ ।
बैठक सुचारुका लागि गृहकार्य गरिरहेको सचिवालयले अहिले उपकरण तथा फर्निचरको व्यवस्थापनका लागि संघ–संस्था र प्रदेश सरकारसँग छलफल गरिरहेको जनाएको छ । बैठक भवनलाई पुरानै अवस्थामा ल्याउने तयारीमा जुटेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन पुर्ण रुपमा भईनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो । अहिले क्यामरा, फर्निचर, टिभी लगायत प्राविधिक सामाग्रीको व्यवस्थापनामा सचिवालय जुटिरहेको छ । प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप लगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी बताउनुभयो ।
प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको थियो । सचिवालयका अनुसार प्रदेश सभाका छ वटा चार पाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । करिब १२ करोड रुपैयाँको भौतिक क्षति भएको छ । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्