सुनसरीमा सशस्त्र प्रहरीको नवनिर्मित भवन उद्घाटन

सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका–५ बसन्तपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) बसन्तपुरको नवनिर्मित भवनको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनी मुख्यालय पकलीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक (स.प्र.ना.म.नि.) कुमार न्यौपानेले भवनको उद्घाटन गर्दै सुरक्षा निकायले राज्यको निर्देशन र जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पालन गर्नुपर्ने बताउनुभयो।
उद्घाटन समारोहका प्रमुख अतिथि तथा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा बाहिनी मुख्यालय पकलीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक (स.प्र.ना.म.नि.) कुमार न्यौपानेले भवनको उद्घाटन गर्दै सुरक्षा निकायले राज्यको निर्देशन र जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पालन गर्नुपर्ने बताउनुभयो।
उहाँले सीमाक्षेत्रमा हुने अवैध गतिविधि, तस्करी र पैठारी नियन्त्रण गर्न थप निगरानी र कठोर कदम चाल्न निर्देशन दिँदै भन्नुभयो, “सशस्त्र प्रहरी बलले मुलुकको भूमि एक इञ्च पनि तलमाथि नहुने गरी संवेदनशील भएर काम गर्नुपर्छ।”
साथै, न्यौपानेले मातहतका प्रहरीलाई देशको वर्तमान परिस्थितिमा अझ बढी जिम्मेवार, अनुशासित र सक्रिय भई सीमा सुरक्षा, शान्ति–सुरक्षा, चोरी–निकासी नियन्त्रण तथा अतिक्रमण रोकथाममा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।
उद्घाटन कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सशस्त्र प्रहरीको बीओपी भवन सञ्चालनले स्थानीय क्षेत्रमा सुरक्षात्मक उपस्थिति थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष अन्सारीले भन्नुभयो, “शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको योगदान उल्लेखनीय छ। पालिका सदैव सुरक्षाकर्मीको हित र सुरक्षाका लागि अग्रसर रहनेछ।”
उहाँले द्वन्द्वकालदेखि विपद् व्यवस्थापन र संक्रामक रोग नियन्त्रणसम्म सशस्त्र प्रहरीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण मुख्यालय सुनसरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले सीमाको सुरक्षासँगै स्थानीय समुदायसँगको सहकार्य सशस्त्र प्रहरीको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
उहाँले नवनिर्मित भवन सञ्चालनमा आएसँगै सीमाक्षेत्रमा सुरक्षात्मक गतिविधि अझ प्रभावकारी र द्रुतगतिमा हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण निकाय र स्थानीयवासीप्रति आभार प्रकट गर्नुभयो।
बीओपी बसन्तपुरको भवन ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको हो। ओम बालाजी निर्माण सेवा, सिराहाले निर्माण ठेक्का पाएको यस भवनको लागत रु. १ करोड ७० लाख ५२ हजार २५२ रहेको छ।
उक्त लागतमा कार्यालय भवन, ब्यारेक, मेससहितका आवासीय संरचना निर्माण गरिएको हो।
उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवे, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख उपरीक्षक बिमल घिमिरे, भन्सार कार्यालय सुनसरीका प्रमुख राधेश्याम दाहाल, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवाहरू र सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण अन्तर्गतका युनिट प्रमुखहरूको पनि उपस्थिति थियो।





प्रतिक्रिया राख्नुहोस्