कालिका नगरपालिकामा २ हजार ५ सय १० घरधुरीलाई बायो मास चुलो वितरण

चितवन – कालिका नगरपालिकामा २ हजार ५ सय १० घरधुरीलाई बायो मास चुलो वितरण गरिएको छ । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्टले कालिका नगरपालिका, वडा कार्यालयहरू र उपभोक्ताहरूको लगत साझेदारीमा बायो मास चुलो वितरण गरेको हो ।
स्वस्थ जीवनशैली र वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले बायो मास चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । सो नगरपालिकाको वडा नं–१ मा २७८, वडा नं–२ मा ४२५, वडा नं–३ मा ३४५, वडा नं–४ मा १९५, वडा नं–५ मा ४१०, वडा नं–६ मा ६९, वडा नं–७ मा ४०६, वडा नं–८ मा १८० र वडा नं–९ मा २०२ गरी कुल २ हजार ५ सय १० बायो मास चुलो वितरण गरिएको गिरीले जानकारी दिनुभयो । वातावरण संरक्षण र गृहिणी महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि स्थानीय सरकारसँग सहकार्य गरी चुलो वितरण गरिएको उहाँको भनाइ छ ।
पहिलो चरणमा चुलो वितरणपछि उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रयोगको उत्कृष्ट नतिजाका आधारमा दोस्रो र तेस्रो चरणमा गरी चुलो वितरणलाई थप विस्तार गरिएको गिरीले जानकारी दिनुभयो ।
बायो मास चुलोले परम्परागत चुलोको तुलनामा ८० प्रतिशतसम्म धुवाँ कम गर्ने क्षमता रहेको भन्दै उहाँले साना दाउरा र कृषिजन्य अवशेषको उपयोगबाट खाना पकाउन सकिने बताउनुभयो । बायो मास चुलोले वन संरक्षण र वातावरणीय सन्तुलनमा समेत सहयोग पुग्ने भन्दै उहाँले धुवाँजन्य रोगको जोखिम घटाउने, परिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र महिलाको समय तथा श्रम बचत हुने बताउनुभयो ।
सपना भिलेजले ग्रामीण समुदायमा बायो मास चुलोलाई व्यावहारिक र दिगो विकल्पका रूपमा विस्तार गर्ने, महिलाको जीवनस्तर सुधार र स्वस्थ वातावरण निर्माणलाई प्रमुख लक्ष्य बनाएको छ ।
सो नगरपालिकाका मेयर विनोद रेग्मीले स्थानीय उपभोक्ताको मागका आधारमा विपन्न बस्ती केन्द्रित बायो मास चुलो वितरण अगाडि बढाइएको बताउनुभयो । दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यकारी अवस्था रहेका र आर्थिक अभावका कारण सिलिन्डर ग्यास प्रयोग गर्न नसक्ने अवस्था रहेका व्यक्तिहरूलाई लक्षित गरी उक्त चुलो प्रदान गरिएको मेयर रेग्मीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्