म्याग्दी क्याम्पस र ग्रीन बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकको बीचमा रोजगार सुनिश्चितताका लागि सम्झौता भएको छ । सोमबार म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित एक समारोहबीच क्याम्पस र बैंकबीच MoU अर्थात् समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त समझदारीपत्रमा म्याग्दी बहुमुखी क्याम्पसको तर्फदेखि क्याम्पस प्रमुख श्रीधर सुवेदी र ग्रीन डेभलपमेन्ट बैंकको तर्फदेखि प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरिबहादुर बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । समुदायस्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई रोजगारको सुनिश्चिततासहित आवश्यक सहयोग गर्ने गरी समझदारी भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकसँग म्याग्दी बहुमुखी क्याम्पसले गरेको सम्झौता अनुसार उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने क्याम्पसका विद्यार्थीहरुलाई रोजगारको ग्यारेण्टी, इन्टनर्सिप गर्न पाउने अवसर, छात्रवृत्तिको व्यवस्था, पेशा तथा व्यवसायका साथै आवश्यक सहयोग उपलब्ध हुने क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो । समझदारीपत्रमा हस्ताक्षर गरेसँगै क्याम्पस र बैंकबीच सहकार्य गर्ने वातावरण समेत निर्माण भएको छ भने म्याग्दी बहुमुखी क्याम्पसबाट उत्पादित दक्ष जनशक्तिलाई रोजगारको अवसर सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले क्याम्पस र ग्रीन बैंकबीच समझदारी भएकाले आगामी दिनमा पनि निरन्तर रुपमा संस्थागत सहकार्य गरिने बताउनुभयो । उहाँले क्याम्पसको आग्रहलाई ग्रीन डेभलपमेन्ट बैंकले सहर्ष रुपमा स्वीकार गरेकोमा हार्दिक धन्यवाद दिँदै क्याम्पसको दक्ष उत्पादनलाई बैङ्किङ क्षेत्रमा सहज तरिकाले रोजगारी पाउने वातावरण मिलेको बताउनुभयो ।
ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक सूर्यप्रसाद लम्सालले आफ्नो जागिरको सिलसिला म्याग्दीबाटै सुरु भएकाले शैक्षिक संस्थासँगको सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । बैंकका सिईओ बुढाथोकीले ग्रीन बैंक क्षेत्रीयस्तरको बैंक भएकाले यसको केन्द्रीय कार्यालय पोखरामा रहेको बताउँदै बैंकले सबै सूचकहरु हासिल गरेको हुँदा प्रगतिउन्मुख रहेको बताउनुभयो । उहाँले बैंक र क्याम्पसको बीचमा समझदारी भएपछि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, रोजगारसहित विभिन्न सहयोगहरु गर्न सकिने जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख सुवेदीले वि.सं. २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन तथा अध्यापनको कार्य भैरहेको बताउनुभयो । म्याग्दी बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट २०७६ सालमा धौलागिरि क्षेत्रमा पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्याययन (क्युएए) प्राप्त गरेकाले शैक्षिक गतिविधिसँगै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म शिक्षा, मानविकी, व्यवस्थापन र स्नातक तहमा सूचना प्रविधि (बिआईसिटी)को विषयमा पढाई भैरहेको छ ।
हाल ८ सयजना भन्दाबढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको क्याम्पसमा प्राध्यापक तथा कर्मचारी गरी कुल ५२ जनाको जनशक्ति कार्यरत रहेको क्याम्पसले जनाएको छ । आधुनिक सुविधासम्पन्न महिला र पुरुषको छुट्टाछुट्टै छात्रावास तथा पुस्तकालय रहेको म्याग्दी बहुमुखी क्याम्पसमा लायन्स क्लबको सहयोगमा साईन्स ल्याव समेत सञ्चालनमा रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्