निर्वाचन केन्द्रित समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ- सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रतिवद्धताका साथ आफूलाई क्रियाशील बनाएको छ ।
निर्वाचनको माहोल बनाउन सरकारले राजनीतिक दल र जेन-जी प्रतिनिधिसँग निरन्तर संवाद र अन्तरक्रिया गरिरहेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा यही कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरुबीचको वार्ताले निर्वाचनको सकारात्मक वातावरण बनेको थियो ।
त्यसअघि गत ४ गते सरकार र राजनीतिक दलबीचको सबैदलीय बैठकले निर्वाचनको वातावरण सिर्जना गरेको छ । निर्वाचन, सुशासन र जेनजीको भावना अनुरुप काम गर्न सरकारले सरोकारवालाहरुसँग निरन्तर विभिन्न चरणका छलफल र पैरबी गरिरहेको छ ।
सरकारको प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन, सुशासन र जेनजीको आवाजलाई सम्बोधन गर्न पछिल्लो समय चरणबद्ध, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग वार्ता र संवाद गरेर सहजिकरण गरिरहनुभएको छ ।
निर्वाचन केन्द्रित भएर मन्त्री खरेलले विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँग चरणबद्ध छलफल गर्नुभएको हो ।
यसैसन्दर्भमा सञ्चारमन्त्री खरेलले आज सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गर्नुभयो ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले सरकारी सञ्चारमाध्यम जिम्मेवार र जवाफदेही पत्रकारिताको पैरवी गर्ने भएकाले सरकारको प्राथमिकतामा रहेको निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जेन-जीको भावना अनुरुपका ‘कन्टेन्ट’ सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै खाले तयारी गरिरहेको र निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जेन-जी प्रतिनिधिहरु पनि सकारात्मक र प्रतिवद्ध रहेको भन्दै यिनै विषयवस्तुलाई प्राथमिकतामा राखेर समाचार, फोटो, भिडियो, अडियोलगायत सामग्री पस्कन मन्त्री खरेलले अनुरोध गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“अहिलेको प्राथमिकता निर्वाचन हो, निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जानसक्ने खतरा रहन्छ, त्यसैले सरकारले निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको छ । राजनीतिक दल, नागरिकसमाज, सञ्चारमाध्यमले निर्वाचनको पक्षमा बहस र पैरबी गर्न जरुरी छ ।”
उहाँले सरकारी सञ्चारमाध्यमले निर्वाचन, सुशासन र जेन-जी सम्बन्धी कन्टेन्ट उत्पादन, प्रसारण र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले जेनजी समूहको आवाज, शहीद परिवारका भनाइ, उनीहरुका पीडा र घाइतेका विचारलाई अझ बढी प्राथमिकतामा राखेर प्रकाशन, प्रसारण गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दवाव सरकारी सञ्चार माध्यममा नपर्ने भन्दै निर्धक्कका साथ आम नागरिकको सर्वोपरी हितमा निश्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामाग्री सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
मन्त्री खरेलले परिवर्तित सन्दर्भमा सरकारी सञ्चार माध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेनजी भ्वाइस’ शीर्षकमा जेन-जी शहीद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुनेगरी समाचार, भिडियोलगायत सामग्री दिनपनि आग्रह गर्नुभयो ।
छलपलमा राज्यका चारवटै सञ्चारमाध्यमका प्रतिनिधिहरुले निर्वाचनसहित सरकारका गतिविधि, सुशासन, जेन-जीका सरोकार र प्राथमिकताका विषय, आर्थिक विकासलगायत विषयलाई प्राथमिकताकासाथ सम्प्रेषण गरिएको बताउनुभयो । साथै उहाँहरुले सरकारका काम कारबाहीसम्बन्धी सूचना र गतिविधि एकद्धार प्रणालीमार्फत प्रवाह गर्ने प्रवन्धका निम्ति सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
यसैक्रममा नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्पा राईले परिवर्तित सन्दर्भमा बढी सचेत र संवेदनशील भएर काम गर्दै आएको तथा राज्यको आधिकारिक र जिम्मेवार सञ्चार माध्यम भएको नाताले निर्वाचन, सुशासन, जेन-जीको मुद्दा, समृद्धिको विषयलाई प्राथमिकताका साथ उत्पादन र प्रशारण गर्दै आएको जानकारी दिनुभयो ।
यसैगरी, नेपाल टेलिभिजनका रिपोर्टिङ प्रमुख रामप्रसाद भण्डारीले सुशासनको पक्षमा समाचारहरु तयार पार्न सरोकारवाला सरकारी पक्षले नै सूचना दिन आनाकानी गर्ने गरेको भन्दै सहजताका लागि आग्रह गर्नुभयो ।
नेपालटिभीअनलाइनका संयोजक गोविन्द धितालले निर्वाचनका मुख्य पक्ष राजनीतिक दलहरुलाई निर्वाचनको पक्षमा लैजान तथा जेन-जी समूहको आधिकारिकता र प्राथमिकतका विषयलाई सम्प्रेषण गरिने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस, गोरखापत्र संस्थान र द राइजिङ नेपालका समाचारसँग सम्बन्धित सञ्चारकर्मीहरुको सहभागिता थियो ।।






प्रतिक्रिया राख्नुहोस्