गाउँमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन
–बिरामी तथा सर्वसाधारणलाई सुविधा

नुवाकोट- बिरामी तथा सर्वसाधारणको सुविधाका लागि नुवाकोटको दक्षिणी भेगमा रहेको फिर्केप कोटमा स्वास्थ्य इकाई केन्द्र सञ्चालन गरिएको छ । विस्तारित स्वास्थ्य इकाई केन्द्रको विशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।
तारकेश्वर गाउँपालिका ६ को फिर्केपकोटमा विस्तारित स्वास्थ्य इकाई केन्द्रको गाउँपालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गर्नुभयो । यसबाट गाऊँ – वासी तथा स्थानीय बिरामीहरूले सेवा पाएका छन् ।
तारकेश्वर गाउँपालिका अध्यक्ष अधिकारीले तारकेश्वरको कुनामा रहेको यस स्वास्थ्य केन्द्रको सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले विद्यमान स्वास्थ्य केन्द्रहरूबाट टाढा रहेका र स्वास्थ्य सेवाको पहुँचबाट कोल्टे परेका गाउँहरूमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अन्तर्गत उक्त स्वास्थ्य इकाई केन्द्र सञ्चालन गरिएको बताउनुभयो।
अध्यक्ष अधिकारीले सामान्य उपचार र सिटामोलका लागि समेत घण्टौँ टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जनाउँदै विस्तारित केन्द्रबाट नियमित सेवा सुरु भएको र स्थानीय आवश्यकता बुझेर नियमित र गुणस्तरीय सेवा दिन र जनगुनासो नआउने गरी काम गर्न केन्द्रका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले जथाभाबी बिदामा नबस्न र बस्नै परे अग्रिम रूपमा जानकारी गराई वैकल्पिक व्यवस्था मिलाएर मात्रै बिदामा बस्न आग्रह गर्नुभयो ।
साँढे तीन वर्षको अवधिमा तारकेश्वरमा विस्तार भएको सो सातौँ स्वास्थ्य इकाई केन्द्र हो । तारकेश्वर गाउँपालिकामा पहिलेदेखि नै एक आयुर्वेदिक सहित ८ वटा स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।
थप गरिएका ७ वटा केन्द्र समेत हाल १५ वटा केन्द्रबाट सेवा प्रवाह भइरहेको छ । तारकेश्वर नुवाकोटको पर्यटकीय स्थान रहेको गाउँपालिका हो ।






प्रतिक्रिया राख्नुहोस्