‘ड्रिमस्केप नेपाल’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु

काठमाडौँ- नेपालसहित विभिन्न चार मुलुकका एक सय जना भन्दा बढी कलाकारहरुको चित्रकला र मूर्तीकला सहितको अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा शुरु भएको छ ।
नेपाल, भारत, बंगलादेश र मोरिससबाट आएका ५० जना सहित नेपाली कलाकारहरुले विभिन्न शीर्षकमा तयार गरेका चित्रकलाहरु नेपाल आर्ट काउन्सिल ग्यालरीको हल बबरमहलमा मंगलबारबाट प्रदर्शनीमा राखिएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चित्रकलाको प्रदर्शनीसंगै कार्यशाला र कलाकारहरुको प्रत्यक्ष चित्रकला र मूर्तीकला प्रदर्शनी सहितको कार्यक्रम राखिएको आयोजक आकार डेकोर ग्यालरीका अध्यक्ष जुजुकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सहभागी कलाकारहरुले पर्सि बिहीवार बूढानीलकण्ठ नगरपालिकास्थित नेवा फल्चामा प्रत्यक्ष चित्रकला र मूर्तिकला निर्माणसहित कार्यशाला सञ्चालन गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
“नेपालको मौलिक पहिचान र यहाँका संस्कृतिलाई विश्वमाझ चिनाउनु र विश्वका विभिन्न मुलुकका कलाकारलाई नेपालमै ल्याएर यहाँको मौलिकता प्रत्यक्ष अनुभूति गराउनु कार्यक्रमको आयोजना गरिएको हो,” अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
ड्रिमस्केप नेपाल शीर्षक दिएर भएको प्रदर्शनीमा धार्मिक, आध्यात्मिक, प्रकृति र आधुनिक चित्रकलाहरु समिश्रण रहेको आयोजक आकार डेकोरले जानकारी दिएको छ ।
नेपालको प्रकृति, संस्कृति र जनजीवनलाई विदेशका कलाकारहरु माझ परिचित गराउँदै नेपाली कलाको विकासमा सहयोग पुर्याउन विभिन्न संघ संस्थाको सहयोगमा प्रदर्शनीको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीको नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले उद्घाटन गर्नुभएको थियो। प्रदर्शनी भोलि बिहिबारसम्म चल्नेछ ।।






प्रतिक्रिया राख्नुहोस्