सामाचकेवा पर्व समापन
दिदीबहिनीले दाजुभाइप्रति कृतज्ञता प्रकट गर्दै माटाका आकृतिहरू गाडेर विधिपूर्वक समापन

सिरहा — मिथिला क्षेत्रका दिदीबहिनीहरूले दाजुभाइप्रति प्रेम, समर्पण र कृतज्ञता व्यक्त गर्दै सामाचकेवा पर्वको समापन गरेका छन्। कात्तिक पूर्णिमाका दिन यो पर्व दाजुभाइका हातबाट माटाका आकृतिहरू घुँडामा राखेर फुटाउने तथा ती आकृतिहरूलाई जोतिएको खेत वा निर्जन वनमा गाडेर विधिपूर्वक समापन गरिन्छ।
सामाचकेवा पर्वका क्रममा दिदीबहिनीहरूले माटाका सामा–चकेवा लगायतका आकृतिहरू बनाउने, र रातिको समयमा समूहमा जम्मा भएर दाजुभाइको प्रेम र सौर्यको बखान गर्दै सामा गीत गाउने परम्परा रहिआएको छ। मिर्चैया–५ की पूजा ठाकुरका अनुसार, “साथीसँग गीत, ख्यालठट्टा र रमाइलोमा ११ दिन कसरी बित्यो, पत्तै हुँदैन।”
पौराणिक कथाअनुसार, द्वापरयुगमा श्रीकृष्णकी छोरी सामा र उनका प्रेमी चक्रधर (चकेवा) बीचको प्रेम सम्बन्ध चुगला (कुरौटे) ले कृष्णलाई बताएपछि रिसले कृष्णले दुवैलाई चरा बनाइदिएका थिए। पछि कृष्णका पुत्र साम्बले शिवजीको तपस्या गरी पितालाई रिझाई श्रापमुक्त गराई उनीहरूको विवाह गराइदिएका थिए। दाजु साम्बको यही गुन सम्झँदै दिदीबहिनीहरूले दाजुभाइप्रति कृतज्ञता प्रकट गर्न सामाचकेवा पर्व मनाउने परम्परा बसेको जनविश्वास छ।
पर्वको अन्तिम दिन दिदीबहिनीहरूले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउने र दाजुभाइले गच्छेअनुसार वस्त्र वा नगद दक्षिणा दिने चलन छ। दिदीबहिनी र दाजुभाइबिचको आत्मीयता, स्नेह र संस्कृतिको प्रतीक मानिने यो पर्व मिथिला क्षेत्रभर उल्लासका साथ मनाइन्छ।






प्रतिक्रिया राख्नुहोस्