मेलम्चीको पानी काठमाडौँ पठाउन मुहानबाटै बन्द

सहमति कार्यान्वयनको माग गर्दै मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिद्वारा खानेपानीको साइट कार्यालयमै ताल्चाबन्दी

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको मुहानबाटै पानी काठमाडौँतर्फ पठाउन स्थानीयले बन्द गरिदिएका छन् ।

हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी काठमाडौँतर्फ पथान्तरण गर्न हिजोदेखि स्थानीयले रोकेका हुन् ।

मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाएर माग पूरा नभएसम्म पानी पठाउन नदिने अडान लिएका छन् ।

यसअघि भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँले जानकारी दिनुभयो ।

मेलम्ची आयोजना प्रभावित र बाढीपीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत विभिन्न माग राखेका छन् ।

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाउनुभएको थियो । विसं २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाका घरखेत पूर्ण रूपमा क्षति भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.