म्याग्दीको सौरबोटमा १ सय १२ रोपनी खेतीयोग्य जमिन बाँझो !

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजेनस्थित सौरबोट क्षेत्रमा ३५ वर्षदेखि स्थानीयवासीको १ सय १२ रोपनीभन्दा धेरै जग्गा बाँझै रहेको छ । खेतीयोग्य जमिन भएर पनि स्थानीयवासीले अन्नबाली लगाउन छाडेपछि अहिले यहाँको जमिन बाँझै बनेको हो ।
लेकाली क्षेत्रबाट बेँसीतर्फ बसाई सर्ने क्रम तीव्र रूपमा बढ्नु, गाउँघरमा गाई गोरु पाल्न छाड्नु र लेकाली अन्नबालीको सट्टा बजारको रासन पानीको प्रयोग बढेपछि खेतीयोग्य जमिन बाँझो भएको छ । सौरबोट क्षेत्रमा एक जना स्थानीय व्यक्तिको न्यूनतम पाँच रोपनीदेखि १५ रोपनीसम्म जग्गाजमिन छ । तर खेती गर्न छाडेका कारण अहिले खेतीयोग्य जमिन सबै खाली पाखोमा रूपान्तरण भएका छन् ।
सौरबोटमा केही व्यक्तिले खेतीयोग्य जमिनलाई नुन छरेर पनि छाडेका छन् । वि.सं. २०४४÷०४५ सालसम्म लेकाली उत्पादनको राम्रो खेती हुने यहाँको जग्गा जमिनमा अहिले तीतेपाती, बनमारो, घँयरु, थकाईलो जस्ता झार जङ्गलले भरिएको छ । सरकारले हरेक वर्ष ल्याउने बजेट, नीति र कार्यक्रममार्फत खाली जग्गा जमिनको प्रयोग गरी कृषि गर्ने तथा स्वदेशमै रोजगारको सिर्जना गर्ने भने पनि त्यो नारामा मात्रै सीमित भएको छ । केही भिरालो र सम्म परेको सौरबोटमा १२ जनाभन्दा बढी स्थानीयवासीको जग्गाजमिन बाँझै छ ।
सौरबोटमा पहिला मकै, कोदो र आलु खेती गरिन्थ्यो । अहिले जमिन बाँझै बनेपछि यहाँ दिनहुँ स्थानीयले भैँसी, गोरु, बाख्रासहितका बस्तुभाउ चराउँछन् । खेतीयोग्य जमिन चरन क्षेत्रमा परिणत भएपछि लेकाली उत्पादन समेत हराउँदै गएको छ । गाजने गाउँदेखि नजिकै पर्ने सौरबोटमा ०४०–४५ सालसम्म लेकाली उत्पादन राम्रो हुन्थ्यो । तर अहिले लेकाली उत्पादन हुने खेतीयोग्य जमिन सबै बाँझो छ ।
मानिसहरूले गाउँबाट सहर चापेका कारण खेती लगाउन छाडेपछि जग्गाजमिन बाँझो बनेको गाजनेका स्थानीय अगुवा यामबहादुर बानियाँले बताउनुभयो । उहाँका अनुसार ०४४÷४५ सालसम्म सौरबोटको फाँटमा मकै, कोदो, फापर, आलुलगायत खेती हुन्थ्यो । तर अहिले जग्गाधनीहरू सबै सहरीकरणको कारणले बसाई सरेपछि खेती गर्न छाडेका हुन् । यहाँ झन्डै चौध–पन्ध्र जनाको लगभग डेढ सय रोपनी जग्गाजमिन बाँझो रहेको छ ।
सौरबोट क्षेत्रमा लेकाली उत्पादनको साथमा व्यावसायिक कृषि उत्पादन गरेर बाँझो जग्गालाई हराभरा बनाउन सकिन्छ । संसारको सातौँ अग्लो धौलागिरि र दसौँ अग्लो चुचुरो अन्नपूर्ण हिमालको सम्मुखमा पर्ने भएकाले पनि यस ठाउँमा स्याउ, कफी, आलुलगायत अन्य लेकाली उत्पादनहरू तिते फापर, मुला, सागलगायत तरकारी र फलफूलहरू प्रशस्तै लगाउन सकिन्छ । समुन्द्री सतहदेखि झन्डै २३ सय मिटरको उचाइमा अवस्थित सौरबोटमा चिसो हावापानी भएकाले पनि लेकाली उत्पादनले राम्रो प्रतिफल दिन सक्ने सम्भावना छ ।
परम्परागत खेतीतर्फ जौ, फापर, उवालगायत अन्नबाली सौरबोटमा उब्जाउन सकिन्छ भने कृषि खेती गर्न सकिने सौरबोट क्षेत्रमा पर्या पर्यटनको पनि विकास गर्न सकिन्छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय नीलकण्ठ शर्माले सौरबोटमा कृषि उत्पादनसँगै अर्ग्यानिक खालको रिसोर्ट बनाएर आयमूलक फलफूल, जडीबुटी तथा कालीज पालन समेत गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.