सरकारले आजबाट अवरुद्ध सवारी अनुमती पत्र छाप्न शुरु गर्दै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु हुने भएको छ ।

यातायात व्यवस्था विभागले पहिलो चरणमा बनेपा स्थित सुरक्षण मुद्रण केन्द्र मार्फत् आजदेखि लाइसेन्स छपाइ थाल्ने तयारी गरेको हो। यस क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार दिउँसो मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक सुरुवात गर्ने कार्यक्रम रहेको छ ।

विभागका अनुसार सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा दैनिक करिब ५ सय प्रति सवारीचालक अनुमतिपत्र छापिनेछ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि ढिलोमा ६ महिनाभित्र चालक अनुमतिपत्र उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

गत जेठ ९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच बाँकी रहेका सवारीचालक अनुमतिपत्र छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो। यद्यपि, दुबै संस्थाको प्राविधिक मूल्यांकन सकिएपछि एक साताअघि मात्र कार्यान्वयन पत्रमा हस्ताक्षर गरिएको हो।

केन्द्रका अनुसार पहिलो चरणमा करिब १२ लाख सवारीचालक अनुमतिपत्र छाप्ने तयारी भइरहेको छ। उक्त कामका लागि यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउनेछ।

मुद्रण केन्द्रमार्फत् छपाइ गर्दा विभागले पहिलेको तुलनामा प्रति कार्ड रु. १०० सस्तो पर्ने भएको छ। यसले सरकारलाई खर्च बचतसँगै चालक अनुमतिपत्र वितरण प्रक्रियामा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.