पिसएबी र एनटिभी वर्ल्ड : नेपाललाई विश्वसामु चिनाउने नयाँ अध्याय

काठमाडौँ- विश्वमा सार्वजनिक सेवा प्रसारणको अभ्यास हुन थालेको लगभग एक शताब्दी भैसके पनि हाम्रो लागि यो नयाँ यात्रा हो । संघीय संसदले पारित गरेको सार्वजनिक सेवा प्रसारण ऐनमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएको ३१औं दिनमा प्रारम्भ हुने कानुनी व्यवस्था बमोजिम यो ऐन २०८१ कात्तिक २३ गतेबाट प्रारम्भ भयो । तर, यसको अभ्यास भने नयाँ सञ्चालक समितिको नियुक्तिसँगै २०८१ पुसदेखि भएको हो ।

ऐतिहासिक विरासत बोकेका राज्यका दुई अग्रणी प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजन कानुनतः यसमा स्वतः रुपान्तरण भए । तर, व्यवहारमा रुपान्तरणका लागि थुप्रै कानुनी प्रबन्ध र तयारीहरु गर्नुपर्ने आवश्यकता थियो र छ पनि ।

हामीले यस अवधिमा सरोकारवाला पक्ष तथा विज्ञहरुको सहभागितामा कर्मचारीको सेवा शर्त र सुविधा सम्बन्धी विनियमावली, आर्थिक प्रशासनसम्बन्धी विनियमावली, कर्मचारीको दरवन्दी पुनरावलोकन तथा पुनर्संरचनाका लागि ओ एण्ड एम सर्भे, स्वेच्छिक अवकाश योजनाको कार्यविधी लगायत संक्रमणकालीन व्यवस्था अन्तर्गत गर्नुपर्ने कानुनका मस्यौदा तयार गरिसकेका छौँ । यसलाई अब चाँडै नै मन्त्रालयमा पेश गर्ने तयारी छ ।

भिन्न कार्यवातावरण, कानुनी संरचना र मनोविज्ञानमा हुर्किएका दुई संस्थाका कर्मचारीलाई एउटै लय र प्रबन्धमा अघि बढाउनु निकै जटिल कार्य भएपनि यसलाई हामीले सहअस्तित्वका आधारमा सहकार्य र साझा मनोविज्ञानको विकास गर्दै सहजताका साथ अघि बढाएका छौँ ।

ऐतिहासिक विरासत बोकेका राज्यका दुई अग्रणी प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजन कानुनतः यसमा स्वतः रुपान्तरण भए । तर, व्यवहारमा रुपान्तरणका लागि थुप्रै कानुनी प्रबन्ध र तयारीहरु गर्नुपर्ने आवश्यकता थियो र छ पनि ।

यस आर्थिक वर्ष भित्रै सम्पूर्ण कानुनी प्रबन्ध गरेर यो चक्र पुरा गर्ने हाम्रो योजना छ ।

लामो समयदेखि थाती रहेका जग्गाको स्वामित्व हस्तान्तरण, कर्मचारीको पदपूर्तिलगायतका कतिपय कार्यहरु यसबीचमा हामीले सम्पन्न गरेका छौँ । यसले संस्थाको साख बृद्धि र कर्मचारीबीच उत्प्रेरणा जागृत गर्न मद्दत पुगेको हाम्रो विश्वास छ ।

सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भनेको दुई संस्थाको एकीकरण मात्र होइन, यसको पहुँच, प्रभाव, प्रस्तुति र पहिचानमा परिवर्तन पनि हो । सर्वव्यापकता, स्वायत्तता, स्वतन्त्रता, सर्वेत्कृष्टता, विविधता, जवाफदेहिता र नवीनता सार्वजनिक सेवा प्रसारणका अन्तर्राष्ट्रिय मान्यता हुन् । लोकतन्त्रको प्रवर्द्धन र नागरिक हकको वकालत गर्नु पनि यसको दायित्व हो ।

हामी सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई बोध गर्दै नागरिक पहिलो (People First) को अवधारणाका साथ आफूलाई रुपान्तरण गर्दै अघि बढेका छौँ ।

हाम्रा तीन माध्यम रेडियो, टेलिभिजन र डिजिटल प्ल्याटफर्म अनि तीन प्राथमिकता राष्ट्रिय एकता, समृद्धि र विपदमा नागरिकको जीवन रक्षा रहेका छन् ।

यसै अवधारणाका आधारमा हामीले प्रविधि र प्रसारण केन्द्रहरुको सुधार एवं विस्तार गर्दै प्रसारण पहुँच क्रमशः बढाइरहेका छौँ । यसैगरी नयाँ पुस्ताको पहिलो रोजाइ र आमनागरिकको जीवनशैली बनेको डिजिटल प्ल्याटफर्ममार्फतको पहुँचलाई पनि नयाँ स्वरुपमा अघि बढाइरहेका छौँ।

समाचारका विषयवस्तुको पुनः प्राथमिकीकरण गरेका छौँ । प्रस्तुतिको शैली बदलेका छौँ । हिजो राष्ट्रिय प्रसारणमा कहिल्यै नजोडिएका समुदाय, क्षेत्र, भाषा, संस्कृति र धरोहर आज हाम्रो मूल प्रवाह बनेका छन । हामी आफ्नो सभ्यता, मौलिक चिन्तन प्रणाली र राष्ट्रिय गौरवको ज्ञान र साझा मनोविज्ञानलाई पुन:जागृत गर्न नागरिक शिक्षाका नयाँ आयामहरुलाई हाम्रा समाचार र कार्यक्रममार्फत अघि बढाइरहेका छौं ।

हाम्रा तीन माध्यम रेडियो, टेलिभिजन र डिजिटल प्ल्याटफर्म अनि तीन प्राथमिकता राष्ट्रिय एकता, समृद्धि र विपदमा नागरिकको जीवन रक्षा रहेका छन् ।

मुलुकमा विभिन्न कालखण्डमा भएका जनआन्दोलन र विद्रोहमार्फत नेपाली जनताले परिवर्तनका आकांक्षाहरु व्यक्त गरेका छन् । पछिल्लो समय भदौ २३ गते जेन-जी पुस्ताले गरेको विद्रोहको आजै दुई महिना पुगेको छ । हरेक आन्दोलन र विद्रोहको मूल सन्देश सवैखाले विभेदको अन्त्य, सामाजिक बहिष्करणमा परेका वर्ग समुदायको मूल प्रवाहीकरण, लोकतन्त्रको सही अभ्यास एवं सुशासन र समृद्धिमार्फत नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने नै रहेको छ । हामी हाम्रा विषयवस्तुमार्फत त्यस भूमिकामा खरो उत्रिनुपर्ने छ ।

सार्वजनिक सेवा प्रसारणको विषयवस्तु र प्रस्तुतिमा सुधारको प्रारम्भ हामीले पिएसबी कार्यान्वयनको एक महिना नबित्दै गत माघ पहिलो साता विषय विज्ञ र सरोकारवालाहरुको व्यापक सहभागितामा तीन दिनसम्म श्रृंखलाबद्ध छलफलसहितको प्रि–लञ्चिङ समारोह आयोजनसहित गरेका थियौँ । त्यो क्रमलाई निरन्तरता दिएका छौँ।

हरेक आन्दोलन र विद्रोहको मूल सन्देश सवैखाले विभेदको अन्त्य, सामाजिक बहिष्करणमा परेका वर्ग समुदायको मूल प्रवाहीकरण, लोकतन्त्रको सही अभ्यास एवं सुशासन र समृद्धिमार्फत नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने नै रहेको छ । हामी हाम्रा विषयवस्तुमार्फत त्यस भूमिकामा खरो उत्रिनुपर्ने छ ।

आज हामी सार्वजनिक सेवा प्रसारण नेपालको अर्को महत्वपूर्ण एवं ऐतिहासिक चरणमा प्रवेश गरेका छौंँ। प्रथम वार्षिकोत्सवको यो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सार्वजनिक सेवा प्रसारणको औपचारिक शुभारम्भ भएको छ । र, यही अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाटै सार्वजनिक सेवा प्रसारण नेपालको अंग्रेजी च्यानल एनटिभी वल्र्डको प्रसारण पनि शुभारम्भ भइसकेको छ।

एनटिभी वल्र्डको शुभारम्भ नेपाल टेलिभिजनले विगत छ वर्षदेखि गरिरहेको पहलको परिणाम हो । हामीलाई लाग्छ, यो सार्वजनिक सेवा प्रसारण नेपाल र नेपाली मिडिया जगतको मात्र होइन, सिंगो मुलुकको लागि नयाँ अध्याय हो ।

म यस क्षणमा अलि भावुक भैरहेको छु, नोस्टाल्जिक पनि भएको छु । एनटिभी वल्र्डको सपना पुरा भएकोमा गौरवान्वित महसुस पनि गरिरहेको छु ।

यसले समय लियो तर, सार्थकता पायो । यसको शुरुवाती चरणदेखि यसलाई यो तहमा पुर्‍याउन योगदान गर्नुहुने सवैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।

एनटिभी वल्र्ड नयाँ च्यानल मात्र होइन, नयाँ सम्भावनाको ढोका पनि हो । Nepal’s Perspective to the World भन्ने अवधारणासहित शुरु भएको यो च्यानल विश्वभरका नेपालीको साझा आवाज बन्नेछ र नेपाललाई विश्वसामु सही रुपमा चिनाउन, प्रवर्द्धन गर्न र नेपाललाई विश्व मञ्चमा स्थापित गर्न महत्वपूर्ण कडी बन्नेछ भन्ने हाम्रो विश्वास छ ।

एनटिभी प्लसको फ्रिक्वेन्सीमा आजै साँझ ७ बजेदेखि फ्रेस कन्टेन्टसहित ४ घण्टा नियमित प्रसारण हुने एनटिभी वल्र्ड न्युजपोर्टल र यूट्युवसहितका डिजिटल प्ल्याटफर्महरुमार्फत २४सै घण्टा विश्वभरका दर्शकहरुबीच पुग्ने छ ।अहिलेलाई यस सन्दर्भमा यति मात्र भन्न चाहन्छु, कृपया हामीलाई हेरिदिनुस्, सुनिदिनुस्, भिजिट गरिदिनुस्, फलो, सब्सक्राइव, शेयर, लाइक, कमेन्ट जे सकिन्छ सवै गरिदिनुस् । हामीलाई तपाईंहरुको मार्गदर्शन, प्रतिक्रिया र समर्थनको खाँचो छ ।

अन्तमा, दुनियाँमा सार्वजनिक सेवा प्रसारणको सफलता र विफलता यसको स्वायत्तता, स्वतन्त्रता र दीगो आर्थिक स्रोतमा निर्भर हुने गरेको छ ।
नेपालमा सार्वजनिक सेवा प्रसारण ऐन जारी गर्दा स्पष्ट गर्नुपर्ने कतिपय कुराहरु अधुरो र अस्पष्ट छोडिएको छ । यसको स्वायत्ततामा आशंका हुने विषय त्यहाँ छन् ।

सवैभन्दा महत्वपूर्ण पक्ष स्रोतको दिगो व्यवस्था छैन । स्रोतको स्पष्ट र दिगो व्यवस्था नभई यसको स्थायित्व कायम हुन सक्दैन । सार्वजनिक सेवा प्रसारण संस्था स्थापनापछिको पहिलो बजेटमा यसलाई संवोधन गर्ने चेष्टासम्म गरिएन । सार्वजनिक सेवा प्रसारणको मान्यतालाई समेट्न सकिएन । यसलाई सच्याउन आवश्यक छ । यसको स्वायत्तता, स्वतन्त्रता र दिगोपनका लागि म सम्बद्ध सवैसँग विशेष आग्रह गर्न चाहन्छु ।

(पिएसबी नेपालको प्रथम वार्षिकोत्सव एवं एनटिभी वल्र्ड च्यानलको शुभारम्भको अबसरमा कार्यकारी अध्यक्ष डा विष्टले दिनुभएको मन्तव्यको संपादित अंश)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.