काठमाडौँ फोटोग्राफर सङ्घमा आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ – काठमाडौँ फोटोग्राफर सङ्घको २०८२ कार्तिक २२ गते शनिवार काठमाडौँमा सम्पन्न सत्रौँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको छ । शनिवार सफलता पूर्वक सम्पन्न अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत चयन भए पनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरि ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह सचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन गरेको छ ।
कार्यसमिति सदस्यहरूमा ११ जना चयन गरेको छ, जस अन्तर्गत केशव राज भट्टराई, वासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेसम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् । काठमाडौँ फोटोग्राफर सङ्घको विधान अनुसार नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको कायम रहने छ ।
अध्यक्षमा चयन भएपछि आनन्द प्रभाकर घिमिरेले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो कार्यकालमा संस्थामा आबद्ध फोटोग्राफर साथीहरूले गर्व गर्न लायक काम गर्ने बताउनुभयो । मेरो कार्यकालमा फोटोग्राफर साथीहरूलाई नयाँ प्रविधि मैत्री बनाउन समय सापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने बताउनुभयो।
त्यसै गरी संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बिमा गर्ने प्रतिबद्धता, आफैले सुरु गरेको केपीए वेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफी सम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किल टेस्ट (सिप परीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हक हितमा काम गर्ने बताउनुभयो।






प्रतिक्रिया राख्नुहोस्