कार्यवाहक राजदूतले भने, नेपाली मूलका व्यक्तिहरूलाई नेपालले पहिचान दिनुपर्छ

न्यु योर्क- अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरूलाई नेपालीको परिचय दिनुपर्ने धारणा राख्नुभएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को राष्ट्रिय सम्मेलनलाई शनिवार साँझ सम्बोधन गर्दै उहाँले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठुलो योगदान दिन सक्ने जिकिर पनि उहाँले गर्नुभयो ।
एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरूलाई नेपाल सरकारले पहिचान दिनुपर्ने धारणा राखेपछि राजदूत आरणले सो कुरा बताउनु भएको थियो ।
अध्यक्ष डिल्ली अधिकारीले विदेशी भएर होइन पुस्तौँ पुस्ताअघि नेपालबाट बाहिर गएका नेपाली मूलका मानिसहरू नेपाली जातिकै प्रतिनिधिका रूपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको तर नेपाल सरकारले आफ्नै सन्ततिहरूलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरूलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरूको मागलाई नेपाल सरकारसम्म आफूले पुर्याउने बताउनु भयो । सो अवसरका अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्य दूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा.दामोदर पौडेलले नेपाली जातिका मानिसहरूलाई नेपालसँग जोड्ने एएनओको अभियानले तीव्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नेपाली भूमिमै नेपाली जातिको आफू शरणार्थीको जीवन बिताउनु परेको दुखद अवस्थाबारे बोल्दै एएनओका बोर्ड अफ ट्रस्टी सदस्य ओमराज गुरुङले जस्तोसुकै मुस्किल परेको अवस्थामा पनि आफूहरूले नेपाली पन, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको बताउनु भएको थियो ।
राष्ट्रिय सम्मेलनमा एएनओका महासचिव चूडामणि भट्टराईले डा.भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकाको राष्ट्रिय समिति गठन भएको घोषणा गर्नु भएको थियो । उहाँले अमेरिकाको विभिन्न राज्यबाट प्रतिनिधिका रूपमा भाग लिन आउनु भएका सामाजिक कार्यकर्ताहरूलाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी पनि दिनुभयो ।
समितिको उपाध्यक्षमा डा.सन्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिव चन्द्र पराजुली, कोषाध्यक्ष तृष्णा चिमोरिया, सहायक कोषाध्यक्ष सब्या विष्ट र प्रवक्तामा केशव आचार्य चयन हुनु भएको छ ।
त्यसै गरी सदस्यहरूमा सुबोध घिमिरे, पुनम दुलाल, रनसिंह मगर, गण्डकी पुत्र, दीपकजंग विश्वकर्मा, डा. जोन मगर, डा.ऋषि बस्ताकोटी, गंगा बस्नेत, युवकरत्न तुलाधर, राम श्रेष्ठ, सृष्टि राई, मनोज जोशी, टिबी गुरुङ, निशा गुरुङ हुनुहुन्छ । त्यसै गरी नेशनल डेलिगेट कमिटीमा उपेन्द्र लुइँटेल, रुपेश उप्रेती, केशव पौडेल, मेलिना मोक्तान, मन न्यौपाने, मुस्कान बालाम्पाकी मगर, तमन्ना गुरुङ, विकास घले, नबिन भट्टराई, अभिशेष थापा, रेनु न्यौपाने, माधव पोख्रेल, लक्ष्मी सङ्ग्रौला र घनश्याम रसाइली चयन हुनु भएको छ ।
नवनिर्वाचित कमिटीका अध्यक्ष डा.भुवन गौतमले सँगैका साथी नेपाल जाँदा एक जना गैर आवासीय नेपाली भएर जान पाउने आफू भने विदेशी भएर भिषा लिएर जानुपर्ने बाध्यता रहेको बताउनु भएको थियो ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने आकर्षक नृत्य र राष्ट्रिय गीतहरू प्रस्तुत गरेको सो कार्यक्रममा स्थानीय नेपालीहरूको ठुलो उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वतारा टाउन सीपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनीता पुरी राईलाई सम्मान गरिएको थियो । नेपाली मूलका मानिसको पहिचान गरी उनीहरूलाई परिचय पत्र उपलब्ध गराउने मागसहितको स्मरण पत्र कार्यवाहक राजदूतलाई हस्तान्तरणसमेत गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्