समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा दाङका किसान खुसी 

दाङ-  गढवा गाउँपालिका–४ रामनगरका किसान राम निवास यादव सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्न पाउँदा खुसी हुनुहुन्छ । पौने ३ बिगाहा जग्गामा धान खेती गरेका यादवले ४० क्विन्टल धान सोमबार खाद्यलाई गर्नुभयो । गाउँमा व्यापारीले २५ सय रुपैयाँ क्विन्टलमा धान मागिरहेको बेला खाद्यलाई ३४ सय ६३ रुपैयाँ ८१ पैसामा बिक्री गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । तर खाद्यले एक जना किसानबाट ४० क्विन्टल मात्रै धान खरिद गर्ने भएपछि बाँकी धान सस्तोमै बेच्नुपर्ने भएको यादवको गुनासो छ । धान बिक्रीका लागि गढवा आइपुगेका किसान यादवले भने, धेरै किसानको धान लग्ने भएकाले खाद्यले एक जना किसानबाट ४० क्विन्टल मात्रै धान खरिद गर्‍यो, बाँकी धान कसरी बिक्री गर्ने भन्ने समस्या हुने भो ।

रामनगरकै अर्का किसान तुलसीराम यादव पनि सरकारले निर्धारण गरेको मूल्यमै धान विक्री गर्न पाउँदा हर्षित हुनुभएको छ । सरकारले यसरी नै सबै किसानको धान खरिद गरिदिए राम्रो हुने उहाँको भनाई छ । खाद्यले गढवा गाउँपालिकाबाट यो वर्षको धान खरिद गर्न सुरु गरेको छ । तत्कालका लागि दाङबाट ५ हजार क्विन्टल मात्र धान खरिद गर्ने योजना रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकाबाट समान रूपमा एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गरिने प्रमुख लोवाले बताउनुभयो ।

धान उत्पादन धेरै हुने दाङमा खाद्यले थोरै मात्र कोटा निर्धारण गर्दा सबै किसानले धान विक्री गर्न नपाएको गुनासो गरेका छन् । आगामी दिनमा खाद्यको कोटालाई वृद्धि गर्न आवश्यक पहल गर्ने गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको भनाई छ । दाङमा पौने २ लाख मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । खाद्यले थोरै मात्र धान खरिद गर्दा किसानहरू सस्तोमा धान बेच्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.