धरानमा भेटियो निगाले बाघको बच्चा, ‘पाटे बाघ’ भएको हल्ला खण्डन

सुनसरी – धरानमा पाटे बाघ फेला परेको हल्लाले स्थानीयमा तरङ्ग फैलाएको थियो । तर कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार वास्तविकता फरक रहेको छ — फेला परेको जनावर पाटे होइन, ‘निगाले बाघ’को बच्चा हो ।

मङ्गलवार साँझ करिब साढे ७ बजे धरान उपमहानगरपालिका–१४ हात्तीसार क्षेत्र नजिक स्थानीय युवाहरूले बाटोमा अलमलिएको अवस्थामा उक्त जनावर फेला पारेका थिए । धरान–१६ का १८ वर्षीय युसन राई, १८ वर्षीय सिमन राई र धरान–१३ का १७ वर्षीय अमन लिम्बूले जनावर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईका अनुसार, “स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि हामीले राति नै वन कार्यालयलाई हस्तान्तरण गरेका थियौँ । सुरुमा बाघको बच्चा भन्ने अनुमान गरिएको थियो,” उहाँले भन्नु भयो ।

तर वन रक्षक लालबहादुर श्रेष्ठले त्यसको प्रजाति पुष्टि गर्दै भन्नु भयो , “फेला परेको जनावर ‘निगाले बाघ’ हो, जुन बिरालो परिवारकै एक दुर्लभ प्रजाति हो । आकारमा सानो भए पनि देख्दा बाघजस्तो लाग्ने भएकाले मानिसहरू भ्रममा पर्का हुन्  ।”

श्रेष्ठका अनुसार यो प्रजाति प्रायः सुनसरीको रामधुनी क्षेत्र वरिपरि पाइने भएकाले सम्भवतः त्यहीँबाट डुल्दै धरानसम्म पुगेको अनुमान गरिएको छ । फेला परेको जनावर पोथी निगाले बाघको बच्चा भएको र यसको तौल करिब डेढ किलो रहेको उहाँले जानकारी दिनुभयो ।

“संरक्षणका लागि यो जनावरलाई निकुञ्जमा पठाउने कि वन क्षेत्रमा पुनः छाड्ने भन्नेबारे अहिले छलफल भइरहेको छ,” श्रेष्ठले भन्नु भयो ।

निगाले बाघ नेपालमा पाइने वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत सूचीबद्ध संरक्षित जनावर हो । यो बाघभन्दा सानो भए पनि बनोट र चालढालका कारण धेरैले यसलाई ‘पाटे बाघ’ भनेर भ्रममा पर्ने गरेको कोसी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत उपेन्द्र यादवले जानकारी दिनु भएको छ !

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.