शहीद भूमिमा पापानी चाड सुरु

धनकुटा-  धनकुटाको शहीद भूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्दै आएका राई जातिको पापानी चाड सुरु भएको छ। नयाँ बाली भित्राएको खुसीयालीमा पापानी चाड मनाउने गरिन्छ। कार्तिक शुक्ल पूर्णिमा पछिको पहिलो मङ्गलवार शहीद भूमि गाउँपालिका–३ को साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुने गर्दछ। पापानी चाडमा नयाँ बाली भित्राएको खुसीयालीमा बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजा आराधना गरी ६ दिन ६ रातसम्म नाचगान गरी एक आपसमा खुसीयाली साटासाट गर्दै मनाउने गरिएको स्थानीयवासी नरेन्द्र कश्चित राईले बताउनुभयो।

पापानी पर्वमा किराँत राईहरूले कुल देवताको पूजा आराधना गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने गर्दछन्। पापानी नाच नाच्दा सबै जना एक आपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गरिन्छ।

पापानी चाडको पहिलो दिन मङ्गलवार गाउँभरिका गढी घरहरू भएका ढोलहरू मूल पुजारीको घरमा भेला भएर पूजा गरेर पापानी सुरु हुने गर्दछ। बुधवार हरेर घरघरमा देवीदेवता भित्राएर पूजा गर्ने गरिन्छ। त्यसपछि हरेक घरमा माङ्ला अर्थात् जोखाना हेर्ने गरिन्छ। आइतबार इष्ट देवता फुढाहाङ (बुढाहाङ) को प्रतीकको रूपमा ङाङसुबाथिङको घर हुँदै गढी घर, पथ्थरे, मझियाको गढी घरमा पूजा गर्ने चलन रहेको छ।

पापानी चाड पहिले पामाआनी शब्दबाट अपभ्रंश भएर बनेको जनविश्वास रहेको छ। राई भाषामा पा भनेको छोरा मान्छे, मा भनेको छोरी मान्छे हो। पामाआनी भनेको छोरा मान्छे र छोरी मान्छे गोलो घेरा भएर ढोल झ्याम्टा बजाउँदै नाच्नु रहेको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.