‘सरकारी सेवामा प्रवेश गरेर देशको सेवा गर्ने योगेन्द्रको सपना बानेश्वरमा अस्तायो’

सिन्धुली- सिन्धुलीको गोलञ्जोर गाँउपालिका-१ च्याखुटारका योगेन्द्र न्यौपाने अधिकृत बन्ने सपना बोकेर काठमाडौँ आएका थिए। गत बर्ष अधिकृतको लिखित परीक्षा उत्तीर्ण गरी मौखिक परीक्षामा फालिएका न्यौपानेलाई अधिकृत बन्ने हुटहुटी जागिरहेकै थियो । नाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वासका साथ तयारी गरिरहेका योगेन्द्रको अधिकृत बन्ने सपना जेन-जी आन्दोलनसँगै काठमाण्डौको बानेश्वरमा अस्तायो ।
गत भदौ २३ गते काठमाण्डौँमा भएको जेन-जी प्रर्दशनमा प्रहरीको गोली लागेर २५ बर्षीय योगेन्द्र सँधैका लागि बिदा भए ।
योगेन्द्रका गाँउका धेरै युवा निजामती कर्मचारीसहित अन्य सरकारी सेवामा आवद्ध छन्, त्यसैले योगेन्द्र पनि अधिकृत बन्ने सपना बुनिरहेका थिए।
गत असारमा अधिकृत बन्ने सपनासहित लोकसेवा आयोगको परीक्षा दिएपछि उनले घरमा आफ्नो परीक्षा राम्रो भएको भन्दै परिवारमा थप आशा र भरोसा जगाएका थिए । तर बा-आमाको लागि उनको आश्वासन फगत स्मरणमा मात्र रह्यो ।
योगेन्द्रका बुबा युवराज न्यौपाने छोरो सायद परीक्षामा सफल होला भन्ने आशा बोकेर बसेका थिए तर उनको आशामा बज्रपात भयो र सपनाहरु चकनाचुर भए ।
मुलुकमा सुशासन कायम गर्न र व्यप्त भ्रष्टचारको न्युनिकरण गर्नका लागि भएको जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै योगेन्द्रको मृत्यु भएको थियो ।
दुई बाबुआमा र एक छोरी र दुई छोरा भएको न्यौपाने परिवारका जेठा छोरा हुन् योगेन्द्र । छोरा वितेको वियोगमा रहेका योगेन्द्रको परिवारका सदस्यको अझै आँसु रोकिएको छैन ।
न्यौपाने परिवारको काठमाण्डौँ मै घर थियो । त्यसैले उनी काठमाण्डौँ मै बसेर त्रिचन्द्र कलेजमा पढ्दै गरेका थिए । काठमाण्डौँ मै घर भएकाले पनि योगेन्द्र गाउँमा नगएको करिब ६ महिना भएको थियो।
योगेन्द्रले दशैँमा घर आउने र सँगै दशैँ मान्ने भनेर फोन गरेको स्मरण गर्दै बुबा र आमा गहभरी आँसु झारेर भक्कानिए।
‘दशैँमा घर आउछु भनेकाले फोनमा धेरै बोलिएन तर अब कहिल्यै नफर्कने गरी गयो’ आमा लक्ष्मी न्यौपाने रुँदै बिलौना गर्छिन ।
योगन्द्रको स्वभाव राजनीति गर्ने फिटिक्कै नभएको परिवारजन बताउँछन् ।
युवा उमेर र पढेलेखेको भएकाले थोरै चासो राखेपनि राजनीति गर्ने स्वभावको नभएको उनका आफन्तको भनाइ छ । योगेन्द्रका बुबा पनि स्थायी शिक्षक भएकाले निजामती सेवा नै उनको पहिलो लक्ष्य थियो ।
भद्र स्वभावका योगेन्द्र पढाइमा समेत अब्बलनै रहेकाले उनले लोकसेवा पास गर्न सक्ने क्षमता भएको छिमेकी एवम् कामदा माध्यमिक विद्यालयका शिक्षक पेशल न्यौपाने बताउँछन ।
‘अरु युवा भन्दा फरक थियो, सरल स्वभावको मिहिनेति थियो योगेन्द्र,’ उनले भने, ‘घरपरिवारमा मात्रै नभएर यस टोलकै क्षमतावान् युवा हामीले गुमाएका छौँ ।’
जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सरकारले शहीद घोषणा गरेसँगै स्मरण रहिरहने गरी जिल्लामा शालिक बनाउनु पर्ने कतिपय शहीद परिवारको भनाइ छ । शहीद परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र जेनजीको आन्दोलनको मर्म र भावना अनुसार सरकारले काम गरोस् भन्ने उनीहरु चाहान्छन ।
परिवारको सदस्य गुमेपनि देशले उनीहरुको सपना साकार पार्ने काम गरोस् भन्ने शहीद परिवारको चाहाना छ ।।






प्रतिक्रिया राख्नुहोस्