सर्भर नचल्दा पाल्पामा नयाँ मतदाता नामावली सङ्कलन प्रभावित सेवाग्राही मर्कामा

पाल्पा – सर्भर नचल्दा जिल्ला निर्वाचन कार्यालय पाल्पामा नयाँ मतदाता नामावली दर्ताको काममा समस्या सिर्जना भएको छ ।
बिहीबार अघिसम्म राम्रोसँग चलेको सर्भरमा हिजो र आज समस्या आउँदा सेवाग्राही घण्टौँ लाइनमा बस्न बाध्य बनेका छन् भने सेवा प्रदायक कर्मचारीले पनि सास्ती खेप्नु परेको छ ।
मतदाता परिचय पत्र बनाउन उत्साहपूर्वक गाउँ गाउँबाट आएका सेवाग्राही निर्वाचन आयोगको वेबसाइटबाट काम नै हुन नसकेपछि निराश बन्दै घर फिर्ता हुनुपरेको हो ।
जिल्लाको निस्दी, रामपुर, तिनाउ, छहरा, पूर्व खोला, माथा गढी, रम्भा, रिब्दीकोट लगायतका पालिकाबाट आएका सेवाग्राही अझै बढी मर्कामा परेका हुन । केही दिन अघिसम्म सहज रूपले सेवा दिँदै आएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले अहिले भने थोरै सेवाग्राही आए पनि सेवा दिन कठिन भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो ।
राष्ट्रिय परिचय पत्र बनाएका सेवाग्राहीले घरबाटै फोटो सहितको मतदाता नामावली बनाउन सक्ने भनिए पनि निर्वाचन आयोगको वेब साइट नै नचल्दा सेवाग्राहीको चाप कार्यालयमा झन् झन् बढ्दै गएको छ । कार्यालयमा सेवाग्राहीको भिडभाड बढेपछि प्रहरी नै परिचालन गरिएको छ । लामो दुरीको यात्रा गरी सेवा लिन आएका सेवाग्राही हिजो काम नबने पछि तानसेनमै बास बसेक थिए । तर आज पनि साइट नचलेपछि धेरै सेवाग्राही घर फर्किएका छन् ।
स्थानिय बसोबास पाल्पा नै रहेका तर हाल रुपन्देही, नवलपरासी, काठमाण्डौं लगायतका सहरबाट सेवा लिन आएका सेवाग्राही अझ बढी मारमा परेका छन् । सरकारले मतदाता नामावली दर्ता प्रक्रियालाई व्यवस्थित र छिटोछरितो नबनाउँदा सम्म हाललाई स्थगित गर्नुपर्नेमा सेवाग्राहीले जोड दिएका छन् । टाढाबाट कार्यालय आएर फर्किनु भन्दा सर्भरले राम्रोसँग काम गरेपछि मात्र सेवा सुचारु गर्नुपर्नेमा सेवाग्राहीको सुझाव छ ।
जिल्लाका सरोकारवाल निकाय र व्यक्ति जिल्ला प्रशासन, जनप्रतिनिधि, राजनीतिक दल, जेनजी अगुवाले सेवाग्राहीले पाएको सास्तीका बारेमा अनुगमन, निरीक्षण नगरेर मूकदर्शक बनेको सेवाग्राहीको आरोप छ ।






प्रतिक्रिया राख्नुहोस्