नयाँ मतदाता नामावली दर्ता गर्ने समय मंसिर ५ गतेसम्म थप

थप समयमा उत्साहका साथ नाम दर्ता गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता गर्ने समय पाँच दिन थप गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले समय थप गर्न आग्रह गर्नु भएपछि आयोगले पाँच दिन समय थप गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएको हो ।

कार्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली दर्ता समय तोकिएकोमा अव मंसिर ५ गते सम्मका लागि समय थप गरिएको हो ।

नयाँ मतदाता नामावली दर्तामा देखिएको उत्साह र नामावली दर्तामा भिडभाड बढेपछि आयोगले राष्ट्रिय परिचयपत्र बनाएकाले बायोमेट्रिक गर्नु नपर्ने व्यवस्था मिलाएको थियो । त्यसपछि अझ उत्साह थपिएको थियो ।

निर्वाचन आयोगको सर्भर नचलेकाले समस्या परेको गुनासोसँगै प्रधानमन्त्री कार्कीले टेलिफोन गरेर सर्भरको समस्या समाधान गर्न र मतदाता नामावाली दर्ताको समय थप गर्न आग्रह गर्नु भएको हो ।

स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको एकमात्र प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले थप गरिएको समयसिमा भित्र जेनजी पुस्ताका सबैले मतदाता नामावलीमा दर्ता गर्न आव्हान गर्नुभएको छ।

राष्ट्रिय परिचयपत्र बनाएकाले अनलाइनबाटै नामावली दर्ता गर्न सकिने व्यवस्थासँगै निर्वाचन कार्यलयमा भिड कम भएको देखिएको छ । आयोगले पछिल्लो समय मतदातामा देखिएको उत्साह र सहभागितालाई हेरेर शनिवार पनि नामदर्ताको व्यवस्था मिलाएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनु भयो ।

कार्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५ सय ५ जनाले नाम दर्ता गरिसकेका छन् ।

यसअघिको तथ्याङक अनुसार निर्वाचन आयोगमा दर्ता रहेका मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २सय ३० रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.