परम्परागत संस्कृति धान्दै जोगी समुदायका युवा पुस्ता

 खोटाङ – जोगी समुदायको ‘फेरी’ लगाउने परम्परागत संस्कृति हराउँदै गएको छ । अघिल्लो पुस्ताका जोगी पुर्खाहरूको निधन हुँदै गएपछि फेरी लगाउने चलन हराउँदै गएको हो । तर खोटाङका केही युवा पुस्ताका जोगीले भने यस संस्कृतिलाई धानिरहेका छन् ।
दिप्रुङ चुइचुम्मा–४ बतासेका ३० वर्षीय नवराज जोगीले कात्तिकमा मसान्तमा मात्र फेरी लगाउने र सिधा उठाउने कार्य सम्पन्न गर्नुभयो । कात्तिककै ९ गते घरबाट हिँड्नुभएको नवराज ३० गते आइतबार  मात्र घर फर्कनुभयो । यसबिचमा दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–११ खार्मी, साकेला गाउँपालिका–१ बाँझेच्यान्डाँडा लगायतका गाउँहरूमा राती–राती फेरी लगाउँदै र दिनमा सिधा उठाउँदै हिँडेको उहाँको भनाई छ ।

यो बेला भैरुङ कुल देवता थानमा राखिएको बराँठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उहाँले बताउनुभयो । ‘घरवालाको रक्षा होस्, चिताएको पुगोस्, भूत पिसाचले दुःख नदिओस् भनेर जप गरिने नवराजले सुनाउनुभयो । रातीको जपनपछि बिहानीपख घरवालाले इच्छा र गच्छे अनुसारको सिधा दिने चलन छ । घर लिप–पोत गरी चोखो–नितो गरेर दशा ग्रह काटिन्छ भन्ने मान्यताका साथ सिधा दिने परम्परा छ ।

चामल, धान, मकै, कोदो, जौ, भटमास, आलु, घिउ, नुन, तेल, बेसार, पैसा दिने गरिन्छ । उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन भए पनि अहिले त्यो चलन हराएको जोगीहरू बताउँछन् । नवराजले २०६५ अर्थात् १८ वर्षको उमेरदेखि नै फेरी लगाउन सुरु गरेको जनाउनुभयो ।

पाँच दाजुभाइमध्ये कान्छा नवराज र उहाँको दाजु धनबहादुर हाल यो पेसामा रहनुभएको छ । बुवा कृष्णबहादुर, बाजे अम्बरबहादुरले पनि यही पेसा अपनाएको उहाँ सुनाउनुहुन्छ । अबको पुस्ताले भने यो पेसा जोगाउँछ–जोगाउँदैन भन्न नसकिने अवस्था आएको नवराजको भनाई छ । उहाँ लगायत गाउँका अन्य २२ जनाले यो परम्परागत पेसा अपनाएका छन् । त्याँहाका जोगीहरूले क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरेका छन् । खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, भोजपुरको टेम्के मैयु गाउँपालिकासम्म फेरी लगाउन पुग्ने गरेका छन् । दानका रूपमा उठ्ने गरेका अन्नबाली लगायतका सिधा स्थानीयले सस्तो मूल्यमा खरिद गर्ने गर्दछन् ।

पृथ्वीनारायणले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई खटाएको तर पछि संस्कृतिको रूपमा विकास भएको मानिँदै आएको जोगीहरू बताउँछन् । कात्तिक र चैत गरी वर्षमा दुई महिना फेरी लगाउने चलन रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.