भौतिक संरचना र प्रचारप्रसारको पर्खाइमा म्याग्दीको लामो छहरा झरना (फोटोफिचर)

म्याग्दी- अग्लो ठाउँ अर्थात् पत्ताले छाँगोबाट हुत्तिँदै खसेको पानीको फोहोरालाई हामी झरना भनेर चिन्दछौँ । प्राकृतिक वा मानवनिर्मित छहरा नै झरना हो । पहाडको टुप्पोबाट कलकल गर्दै तल जमिनतिर बग्ने गर्छ झरना । भीर तथा पहराको साहारा लिएर बग्ने झरनाको पानी खुब चिसो हुन्छ र छङ्छङ गरेको आवाज सुनिन्छ ।

जुनसुकै झरनाको फेदीबाट माथितर्फ फर्किएर हेर्दा पनि सिरमा लगाएको टोपी र ओढेको पछ्यौरी भुइँमा खसेको पत्तो हुँदैन । पहरोमा लडबुडी खेल्दै बगेको झरना हेर्दा र त्यसको आवाजले त्यहाँ पुग्ने जो कोही वा पर्यटकलाई समेत झरनाले निकै मोहित बनाउँछ । एकनासले माथिबाट तलतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको लामो छहरा झरना पनि जति हेर्‍यो उति हेरिरहुँ जस्तो लागिरहन्छ ।

म्याग्दी जिल्लामा रहेका पर्यटकीय आकर्षणका झरनाहरुमध्ये लामो छहरा झरना पनि एक हो । कतिपय झरनाहरु वर्षायामको समयमा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । लामो छहरा झरना भने सदावहार बगिरहन्छ, सुस्साइरहन्छ । तर पर्यटकीय आकर्षणको सम्भावना भएर पनि भौतिक पूर्वाधारको अभावले म्याग्दीको लामो छहरा झरना ओझेलमा परेको छ । जिल्लाको मंगला गाउँपालिका-२, मिठौलामा पर्ने यस झरनामा भौतिक पूर्वाधारका आवश्यक संरचनाहरु नबन्दा र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै जान थालेको छ ।

पर्यटकीय सम्भावनायुक्त लामो छहरा झरनाको आसपासका क्षेत्रमा पर्यटकलक्षित पूर्वाधारहरुको अभाव भएको छ । झरनासम्म पुग्ने सहज पदमार्ग, खाने र बस्ने ठाउँ, शौचालय, टि–हाउस र भ्यू–प्वाइन्ट जस्ता संरचनाहरुको अभाव देखिएको स्थानीयवासीले बताएका छन् । पर्यटकहरु रमाउन र भुल्नका लागि आवश्यक पर्ने संरचनाहरु बनाएर झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने स्थानीयवासीको माग छ । हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक देखिने लामो छहरा झरनाले गाउँको सौन्दर्यता समेत बढाएको छ । झरनामा पर्यटकहरुका लागि क्यानोनिङ गर्न सकिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

पछिल्लो समय शनिवार तथा सार्वजनिक विदाको दिन झरनामा पुगेर धेरै पर्यटकहरु रमाउने गर्दछन् । गर्मी छल्न तथा झरनाको अवलोकन गर्नका लागि म्याग्दीसहित विभिन्न ठाउँबाट पर्यटकहरु आउने गरेको स्थानीयवासी पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । बेनी–दरबाङ सडकखण्डको नजिकमा पर्ने झरनासम्म पुग्ने बाटो र झरनामा पुगेर पर्यटकहरु रमाउने आवश्यक संरचनाहरुको निर्माण तथा उचित प्रचारप्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढाउन सकिन्छ ।

समुन्द्री सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको लामो छहरा झरनाको मात्र उचाई १ सय ५० मिटर रहेको अनुमान गरिएको छ । झरनाको आधारशिविरमा पौडी खेल्न मिल्ने ताल समेत रहेको छ । धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले लामो छहरा झरनालाई पर्यटकीय आकर्षणको गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना रहेकाले यसका लागि सम्बन्धित गाउँपालिका, वडा र स्थानीयवासीले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

झरनाको पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि डिपिआर बनाएर पदमार्गसहित आवश्यक संरचना निर्माणमा पहल गरिएको मंगला गाउँपालिकाले जनाएको छ । झरना आफैमा पनि निक सुन्दर तथा मनमोहक रहेकाले पर्यटकहरु लोभिन्छन् । प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न आउने पर्यटकहरुलाई झरनासम्म पुग्ने वातावरण बनाउन पर्यटकलक्षित संरचनाहरु निर्माण गरिने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.