धनकुटामा वाडाङ्मेट र वाडाङ्मी (पापानी) को रौनक – फोटो फिचर

धनकुटा- धनकुटा यतिबेला स्थानिय बाजागाजाले सुसज्जीत छ। स्थानिय बाजागाजा गित नाच इष्ट देवताको पुजा र खानपिनले धनकुटा नगरपालिकामा मात्र बसोवास रहेको आठपहरिया जाति वाडाङ्मेट चाड मनाइरहदा सहिदभूमिका राईहरु वाडाङ्मी (पापानी) चाडमा रमाइरहेका छन । आठपहरिया जातिको वढाङ्मेट वर्ष भरिमा परेको मृत्यु शोक सामुहिक रुपमा उकास्ने र सन्तान बढेकोमा खुसियालीको हर्कबढाइ गर्ने मुख्य चाड हो भने सहिदभूमिका राईहरु कुल देवता र पितृको पुजा गर्दै वाडाङ्मी मनाउने गर्दछन ।
वढाङ्मेट कात्तिक पूर्णिमाको एक हप्ता अघिबाट सुरु भएर करिब २२ दिनसम्म जारी रहन्छ । धनकुटा नगरपालिका वडा नं. ५ स्थित ठूलो घर (५२ चुले घर) मा विशेष पूजा गरी अर्थात माङ्लाङ उठाएपछि चाड औपचारिक रुपमा वडाङ्मेट सुरु हुने गर्दछ । त्यसपछि वर्षभरिमा मृत्यु हुनेहरुका परिवारका सम्पूर्ण सदस्यहरुले ४ दिनसम्म हिँडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरि बराह भगवानको दर्शन गरि बरखी फुकाउन जाने प्रचलन रहेको छ । बराहक्षेत्रको यात्राका क्रममा बरखी फुकाउने व्यक्तीले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने तथा यातायातका साधन प्रयोग नपाइने चलन छ । यस्तै अरुले निमार्ण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने गरिन्छ । परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोसी, कोकाहा खोला र तमोरमा बगाएर कात्तिक पूर्णिमाको दिन बिहान घर आएर पितृको सम्झना गरी दुख विर्सीएर मिठो खानेकुरा खाएर नाचगान गर्दै मनाइने चलन रहेको आठपहरिया समाजका अध्यक्ष अष्टमान आठपहरियाले बताउनु भयो ।
दुखको काम सकेपछि त्यसपछि जेठो सन्तान जन्मेको घरमा तथा नयाँ घर बनेको ठाउँमा हर्कबढाइ गर्ने चलन रहेको छ । औसीसम्म जारी रहने यो चाडमा दुख विर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी र आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्लो नाच नाचेर तथा संस्कृति अनुसारको परिकार राँगाको मासु, कुबिन्डो र फिलुगें अचार खाएर मनाउने गरिन्छ । नाच्नेलाई पैसाको माला लगाइदिने चलन रहेको छ । यसो गर्दा मनोकामना पुरा हुन्छ भन्ने जनविश्वास रहेको आठपहरिया समाजका उपाध्यक्ष सुर्य आठपहरियाले बताउनु भयो। वाडाङ्मेट मनाउन धनकुटा बाहिर रहेका आठपहरिया धनकुटा नै आउनुपर्ने बाध्यकारी चलन रहेको छ। धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायको करिब ८ हजारको हाराहारीमा जनसंख्या रहेको छ।
यता धनकुटाको सहिदभूमि गाउँपालिकाका राईहरुको वाडाङ्मी (पापानी) कार्तिक पुर्णिमा पछिको पहिलो मंगलबार सुरु हुन्छ । नयाँ बाली भित्रीएको खुसीयाली मनाइने चाडमा चाड सुरु भएपछि मुन्धुम विदले बुढाहाङ (कुल देवता) को १५ दिनसम्म आराधना गर्ने र स्थानीयले पनि कुल देवता र पितृको पुजा गर्दै ६ दिन ६ रात सम्म नाचगान गरी वाडाङ्मी मनाउने गरीएको छ । वाडाङ्मी पर्वमा राईहरु ढोल, झ्याम्टा बजाउदै लहरै कुम जोडेर पापानी नाच नाच्ने गरेका छन । पापानी नाच पहिले पामाआनी शब्दबाट अपभ्रंस भएर बनेको स्थानीय नरेन्द्र कस्चित राईले बताउनु भयो। राई भाषामा पा भनेको छोरा मान्छे, मा भनेको छोरी मान्छे हो। पामाआनी भनेको छोरा मान्छे र छोरी मान्छे गोलोघेरा भएर ढोल झ्याप्टा बजाउँदै नाच्नु रहेको उहाँको तर्फ छ।
पापानी मनाउन पुराना पुस्ता नै चाहिने र नयाँ गाउँमा नबस्दा नाच्न र गाउन नजान्दा परम्परा लोप हुन लागेको छ। पहिले पापानी पनि आफ्नै भाषा गाउने गरिएको थियो तर, अहिले नेपालीमा गाउन थालिएको छ। लोप हुन लागेको पापानी नाचलाई संरक्षण गर्न केही युवा लागेको सहिदभूमि गाउँपालिका वडा नं. ६ का मोहन छिलिङ राईले बताउनु भयो। पहिलेदेखि संरक्षण हुँदै आएपनि बीचमा केही पुस्ताबाट लोप हुने अवस्था आएपनि अहिलेको पुस्ताले नयाँ पुस्तालाई जागरुक बनाउँदै आएको उहाँको भनाइ छ। उहाँले स्थानीय सरकारले संरक्षणमा विशेष चासो दिनुपर्ने बताउनु भयो। सहिदभूमिको कुल जनसंख्यामध्ये करिव ८० प्रतिशत राई समुदायको बसोवास रहेको छ।







प्रतिक्रिया राख्नुहोस्