लुम्बिनीमा थपिए ४५ हजार मतदाता

दाङ –  लुम्बिनी प्रदेशमा ४५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोज १२ गतेदेखि हालसम्म ४५ हजार ४८८ जना नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्। सबैभन्दा धेरै रुपन्देहीमा १० हजार ५३७ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो। तीमध्ये ५ हजार ९५६ पुरुष र ४ हजार ५८१ महिला रहेका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार बाँकेमा ९ हजार ४७३ जना नयाँ मतदाता दर्ता भएका छन्। बाँकेका पुरुष–महिलाको विवरण भने अद्यावधिक हुन बाँकी छ। कपिलवस्तुमा ५ हजार ९३०, दाङमा ४ हजार ९३२, नवलपरासी पश्चिममा ४ हजार ९२८, बर्दियामा २ हजार ५९, गुल्मीमा २ हजार ४८१, अर्घाखाँचीमा १ हजार ६८१, पाल्पामा १ हजार ५८५, रोल्पामा ६४६ र रुकुम पूर्वमा २९० नयाँ मतदाता थपिएका छन्।

सूचना अधिकारी कुँवरका अनुसार मतदाता नामावली सङ्कलन कार्य निरन्तर भइरहेको छ। उहाँले भन्नुभयो, “प्रदेशभर निरन्तर मतदाता नामावली सङ्कलनको काम भइरहेकाले तथ्याङ्क अझै बढ्नेछ।” मतदाता नामावली दर्ता प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म जारी छ। यो प्रक्रिया मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.