दिवङ्गत आफन्तहरूको सत्गतिको कामना गर्ने पर्व बालाचतुर्दशीको मेला पशुपति क्षेत्रमा शुरु

काठमाडौँ – बालाचतुर्दशीको अघिल्लै दिनदेखि पशुपति क्षेत्रमा बालाचतुर्दशी मेला लाग्न शुरु भएको छ ।
दिवङ्गत पितृको सत्गतिको कामना गर्दै मनाइने बालाचतुर्दशी मेला शुरु गर्न लागिएको हो ।
पितृका नाममा बत्ती बाल्न पशुपति क्षेत्रमा भेला हुने र बत्ती बाल्नको लागि आफू बस्ने ठाउँ निर्धारण गर्न पुर्खाप्रति कृतज्ञ मानिसहरू अघिल्लै दिनदेखि बालाचतुर्दशी मेला भर्न पशुपतिमा भेला हुने गरेका हुन् ।
आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले भरे बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।
भोलि मंसिर चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सत्गतिको कामना गर्दै शतबीज छरिन्छ । नेपाल र विदेशमा रहेका शिवालय परिसरहरूमा पनि शतबीज छर्ने चलन छ । यस क्रममा ती ठाउँमा पनि बालाचतुर्दशी मेला लाग्ने गर्दछ । आफ्ना पुर्खाप्रति श्रद्धा व्यक्तगर्नका लागि जैविक विवधताबाट रैथाने बालीका बिउहरू जम्मा गर्ने र कम्तीमा सात प्रकारका बिउ छरिने भएकोले बालचतुर्दशीलाई छतबीज छर्ने पर्वका रुपमा लिने गरिन्छ ।
आध्यात्मिक रुपमा हेर्दा पुर्खाले वंश कायम गरी आफूहरू आजको अवस्थामा आइपुगेकोले पुर्खाहरू पनि परलोकमा राम्रो अवस्थामा रहून् भनेर बत्ती बाल्ने र रैथाने बिउ छर्ने गरिएको अध्यात्मवादीहरुले बताएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्