सवारी साधन नहुँदा लमजुङ प्रहरीलाई कार्यसम्पादनमा समस्या
विग्रिएको गाडी मर्मत रकम नहुँदा एक वर्षदेखि थन्कियो

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङमा सवारी साधन अभावका कारण प्रहरीले दैनिक गतिविधि सञ्चालन गर्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा दुईवटा सवारी साधन भएकोमा एउटा सवारी साधन करिब एक वर्षदेखि विग्रिएपछि दैनिक गतिविधीमा समस्या भएको हो ।
विग्रिएको सवारी साधन थन्किदै आएको र आवश्यक मर्मत खर्च नहुँदा अझै सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमूख एवं प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताए । सवारी साधन मर्मतका लागि आठ लाख भन्दा बढि रकम लाग्ने भएको तर बर्षभरिमा पनि मर्मत खर्चका लागि त्यति रकम नहुँदा मर्मत गर्न नसकिएको लमजुङ प्रहरीले जनाएको छ ।
गत वर्षको पौष महिनादेखि गाडी बिग्रिएपछि जिल्ला प्रहरी कार्यालय लमजुङलाई प्रहरी गस्ती, अपराध अनुसन्धान तथा आकस्मिक घटनास्थलमा पुग्न कठिनाइ बढेको प्रहरी निरिक्षक पाण्डेले बताए । सवारी साधन नभएकै कारण महत्वपूर्ण घटनास्थलमा पनि अपेक्षित समयमै पुग्न नसक्ने अवस्था आएको प्रहरी निरिक्षक पाण्डेको भनाई छ ।
कार्यालयसँग हाल एउटा कार्यालय प्रमूखले प्रयोग गर्ने सवारी साधन छ सो बाहेक एउटा वानटन मात्रै छ । हाल प्रहरीले कार्यालय प्रमूखले प्रयोग गर्ने सवारी साधनलाई नै आवश्यकता अनुसार प्रयोग गर्दै आएको छ ।
‘नियमित सञ्चालनयोग्य सवारी साधन नहुँदा आपत्कालीन खबर सुनेसँगै तत्काल परिचालन हुन निकै समस्या हुने गरेको छ’ प्रहरी निरिक्षक पाण्डेले भने ‘कुनै एउटै समयमा दुई तर्फ घटना भएमा प्रहरी सवारी साधन विहिन बन्ने गरेको छ ।’
जिल्ला प्रहरी कार्यालय बाहेक जिल्लामा अन्य तीनवटा इलाका प्रहरी कार्यालयमा प्रहरीको एक÷एकवटा सवारी साधन छ । यद्यपी जिल्लाको भौगोलिक विकटता र सम्भावित सुरक्षा योजना अनुसार ति सवारी साधनलाई जिल्लामा ल्याएर सञ्चालन गर्ने अवस्था पनि नभएको प्रहरीले जनाएको छ । सवारी साधनकै अभावमा कतिपय प्रहरीहरुले संस्थागत कामका लागि निजि सवारी साधन पनि प्रयोग गर्र्दै आएका छन् ।
प्रहरीलाई सवारी साधनको अभाव भएसँगै उपलब्ध गराईदिन सम्बन्धित निकायमा पहल भईरहे पनि उपलब्ध भएको छैन । यद्यपी अहिलेको अवस्थामा सुरक्षा समितिको बैठकबाट निर्णय गराई आवश्यकता अनुसार जिल्लाका अन्य सरकारी कार्यालयका सवारी साधनलाई पालो गरी कार्य सम्पादन गरीरहेको छ ।
सवारी साधन अभावका कारण दैनिक गस्ती तथा तथ्य खोजी अनुसन्धानमा समस्या भएको छ । हाल जिल्लामा कारागार समेत नहुँदा थुनुवा वा अदालतबाट मुद्धा फैसाला भएका कैदी बन्दिहरुलाई तनहु तथा कास्की कारागारसम्म पु¥याउन पनि यातायात समस्या हुँदै आएको छ । प्रहरीको आफ्नै सवारी साधन नहुँदा र अन्य यातायातबाट कैदीबन्दि लाने ल्याउने गर्नुपर्दा सुरक्षा चनौति थपिएको छ ।
सवारी साधन व्यवस्थापनका लागि स्थानीय तहदेखि सरोकारवाला निकायहरूसम्म सहयोगका लागि पहल भइरहेको तर आवश्यक बजेट नआएसम्म समस्या समाधान नहुने प्रहरीको भनाइ छ । सुरक्षा व्यवस्थामा प्रत्यक्ष प्रभाव परिरहेको यो अवस्थालाई चाँडो समाधान गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको पनि लमजुङ प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्