अपराधीहरू समाजमा खुलेआम हिँडेको अवस्थामा चुनाव हुन सक्दैन: एमाले महासचिव पोखरेल

रुपन्देही- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आमजनतालाई निर्भय नबनाउँदा सम्म निर्वाचन आयोगले मात्र तयारी गरेर फागुन २१ गते चुनाव हुन नसक्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेले प्रहरीका हतियार खोसिएको र अपराधीहरू समाजमा खुलेआम हिँडेको अवस्थामा चुनाव हुन सक्ने स्पष्ट पार्नुभयो ।
प्रहरीको मनोबल उच्च बनाउनुपर्नेमा सरकार अन्य कुरामै अल्मिलिएको बताउँदै उहाँले नहुने चुनावको पैरवीमा एमाले नलाग्ने बताउनुभयो ।
एमाले चुनावबाट भाग्ने पार्टी नभएको बताउँदै महासचिव पोखरेले नवयुवाका मागलाई सम्बोधन गर्न संविधान संसोधनपछि चुनावमा जानुपर्ने र त्यसअघि संसद पुनःस्थापना हुनुपर्ने बताउनुभयो ।
अहिले सरकार राज्यलाई कमजोर बनाएर गठन भएको जिकिर गर्दै उहाँले नवयुवाका मागलाई एमालेले सम्मान गर्ने तर मुलुकमा विध्वंस मच्चाउनेहरुलाई कारवाही हुनुपर्ने बताउनुभयो ।
नवयुवाहरुको शान्तिपूर्ण प्रर्दशनलाई बाह्य शक्ति समेतको आडमा सत्ता गुमाएको, राजावादी र पपुलिष्टवादीहरुले हिंसात्मक बनाएको महासचिव पोखरेलको भनाइ छ ।
जनताको शक्ति कस्तो हुन्छ भन्ने कुरा एमालेले कार्तिक २९ गते देखाएको उल्लेख गर्दै उहाँले एमाले कसैसँग प्रतिसोध साँध्ने पार्टी नभएको स्पष्ट पार्नुभयो ।
फरक प्रसंगमा एमाले महासचिव पोखरेलले पार्टीको आसन्न महाधिवेशनमा कार्यकर्ताको विश्वासको भरमा नेतृत्व चयन हुने बताउनुभयो ।
नेतृत्व चयनका लागि एमाले कार्यकर्ता सार्वभौम रहेको चर्चा गर्दै उहाँले सामाजिक सञ्जाल वा मिडियाबाट नेतृत्वको विषयमा निरुपण हुने स्पष्ट पार्नुभयो ।
मुलुकमा धेरै दल होइन, बलिया दल बन्नुपर्ने बताउँदै महासचिव पोखरेलले दलहरु वैज्ञानिक समाजवाद र प्रजातान्त्रिक समाजवादको बैचारिक धारमा ध्रवीकरण हुँदा मुलुकलाई राम्रो हुने उल्लेख गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्